१ गधा र भ्यागुता
एउटा गधा दाउराको भारी बोकेर खोला तर्दै थियो । अचानक उसको खुट्टा चिप्लिएर ऊ पानीमा पल्टयो । गह्रुँगो भारी बोकेको हुनाले ऊ उठ्नसकेन । उठ्न नसकेपछि ऊ बेस्सरी चिच्याउन थाल्यो ।
खोलामा बस्ने केही भ्यागुताहरूले गधा कराएको सुने । उनीहरू गधाको नजिकै गए र भने, "हामीजस्तै जीवनभर पानीमा बस्नु परको भए तिमीले के गर्थ्यौ ? - एक छिन पानीमा डुब्दैमा यस्तो हल्लाखोर गर्न सुहाउँछ ?"
२ गघा र फटेंग्रा
फटेँग्राको गीत सुनेर गधा दंग पर्यो । उसले पनि फटेंग्राले जस्तै मिठो स्वरले गीत गाउने विचार गर्यो । फटेंग्राले के कुरा खाएर यति मिठो स्वर निस्केको होला भनेर जान्न ऊ उत्सुक भयो । उसले फटेंग्रासँग तिमीहरू के खाएर बाँच्छौ भनेर सोध्यो । फटेंग्राले जवाफ दियो, "हामी त पातमा परेको शीतको थोपा खान्छौँ ।"
गधाले पनि शीतको थोपामात्रै खाएर बस्ने निधो गर्यो । केही दिन पछि ऊ भोकले मर्यो ।
३ गधा, भाले र सिंह
एउटा गधा र एउटा कुखुराको भाले खलोमा बसिरहेका थिए । त्यसै बेला एउटा भोकाएको सिंह त्यहाँ आइपुग्यो । उसले गधालाई मार्ने दाउले त्यसलाई झम्टनै लागेको बेलामा भाले बेस्सरी करायो । भालेको आवाजले सिंह तर्स्यो र बेतोडले भाग्यो ।
भाले बास्दैमा सिंह डराएको देखेर गधाको हिम्मत बढ्यो । उसले सिंहमाथि जाइलाग्ने निधो गर्यो र उसको पछिपछि दौडयो । धेरै पर नपुग्दे सिंह पछाडि फर्क्यो र गधालाई झम्टेर टुक्राटुक्रा पारिदियो ।
४ फ्याउरोको तर्क
एक पल्ट सिंह र फ्याउरो सँगसँगै सिकार खेल्न निस्के । बाटोमा तिनीहरूले एउटा गधा चरिरहेको देखे । फ्याउरोको सल्लाहअनुसार सिंहले फ्याउरोमार्फत गधालाई मित लाउने खबर पठायो । बनको राजासँग सम्बन्ध जोड्न पाइने भयो भनेर खुशी हुँदै गधा सिंह भएको ठाउँमा गयो । तर त्यहाँ पुग्ने बित्तिकै सिंहले एकै झम्टाइमा गधालाई मारिदियो ।
त्यसपछि सिंहले मरेको गधातिर देखाउँदै फ्याउरोलाई भन्यो, "हेर आजको हाम्रो भोजन यही हो । म थाकेको छु । एकै छिन सुतेर आराम गर्छु । खबरदार म नआउँदासम्म यसलाई नछुनु ।"
सिंह गएपछि फ्याउरो भोजनको रखवारी गरेर बस्यो । तर धेरै बेरसम्म पनि सिंह नफर्केपछि उसले मन थाम्न सकेन र गधाको टाउको फोरर त्यसभित्रको गिदी खाइदियो ।
सिंह फर्केपछि उसले गधाको गिदी नभएको रित्तो टाउको देख्यो । ऊ रिसले चूर भयो र बनै थर्कने गरी फ्याउरोसँग सोध्यो, "यसको गिदी तैँले के गरिस् भन ।"
फ्याउरोले बडो विनम्र भएर भन्यो, "सरकार, यो गधाको गिदी नै थिएन । यसको गिदी भएको भए त यति सजिलोसँग सरकारको सिकार हुने नै थिएन ।"
५ तालुखुइलेको टाउकोमा झिँगा
एउटा झिँगाले एक जना तालुखुइले मानिसको नाँगो टाउकोमा टोक्न थाल्यो । मानिसले झिँगालाई मार्ने नियतले जोडले हिर्काउँदा आफ्नै टाउकोमा चोट पुर्यायो । चोटबाट जोगिएको झिँगाले जिस्क्याउँदै भन्यो, "तिमीले कोसँग बदला लिन खोजेको ? एउटा सानो किरासँग ? आखिर तिमीले के गर्न सक्यौ त ? उल्टै आफूलाई चोट पुर्यायौ ।"
तालुखुइलेले जवाफ दियो, "आफूले आफैलाई चोट पुर्याउने मेरो नियत थिएन । यसैले मलाई कुनै चिन्ता छैन । तर, मानिसको रगत चुस्दा रमाउने तँ दुष्ट किरालाई मार्न पाए म कस्तो खुशी हुन्थेँ । आफैलाई चोट पुर्याएर भए पनि तँलाई मार्न पाए हुन्थ्यो ।"
६ तालुखुइले र झिँगा
गर्मीको दिन दिउँसो कामले थाकेर एक जना तालुखुइले मानिस आराम गर्न बसेको थियो । एउटा झिँगा आएर उसको टाउको माथि भुनभुनाउन र बेलाबेलामा टोक्न पनि थाल्यो । त्यो मानिसले त्यो चुत्थो शत्रुलाई मार्ने उद्देश्यले झिँगालाई ताकेर जोडले हान्यो । तर झिँगालाई केही भएन । बरु उसको टाउकोमा टुटुल्को उठ्यो ।
झिँगाले त्यो मानिसलाई फेरि दुःख दिन थाल्यो । तर यस पाली उसले बुद्धिले काम लियो । उसले भन्यो, "चुत्थो किरालाई चलाउँदा आफ्नै नोक्सान हुने रहेछ । गुहुमा हान्यो मुखमा छिटा ।"
७ मौरी र महादेव
हिमालयबाट मौरीकी रानी महादेवकहाँ पुगिन् । उनले महादेवलाई गुलियो महको चाका उपहार दिइन् । मिठो मह खाएर महादेव प्रशन्न भए । उनले रानी मौरीलाई चाहेको कुरा माग्न आज्ञा दिए । चाहेको कुरा पाउने भएपछि मौरीले विन्ती गरिन्, "कुनै पनि मानिसले मेरो मह चोर्न आएमा उसलाई मार्नको लागि मलाई टोक्ने खिल (विष) दिनुहोस् ।"
महादेव मानिसलाई निक्कै माया गर्थे । यसैले रानी मौरीको माग सुनेर महादेवलाई रिस उठयो । तर उनले रानी मौरीलाई वचन दिइसकेको हुनाले उनको कुरा र्टार्न मिल्दैनथ्यो । यसैले उनले रानी मौरीलाई खिल त दिए तर यसरी दिए : "तिमीले आफ्नो इच्छा अनुसार मानिसलाई मार्ने खिल त पाउने छौ, तर यसमा तिम्रो ज्यानको खतरा हुनेछ । जसलाई तिमीले टोक्नेछौ उसको जिउमा तिम्रो खिल अडकिने छ र खिल नभएपछि तिम्रो मृत्यु हुनेछ ।"
८ सिकारी, तित्रा र भाले
एउटा चरा मार्ने सिकारी साँझको खाना तरकारी र भात खान बस्नै लागेको थियो । त्यही बेला उसको साथी अचानक आइपुग्यो । साथीलाई चराको मासु ख्वाउनै पर्यो । तर उसले दिनभरि चरा समात्न सकेको थिएन । चरा राख्ने थैलो रित्तो थियो । यसैले उसले बर्षौसम्म पालेको तित्रालाई मारेर साथीलाई ख्वाउने विचार गर्यो ।
त्यो तित्राले तालिम पाएको थियो । त्यसले बनका अरु चरालाई झुक्याएर बोलाउँथ्यो र सिकारीको जालमा फँसाउँथ्यो । तित्राले इमान्दारी साथ आफ्नो ज्यान जोगाइदिन सिकारीसँग बिन्ती गर्यो, "यदि तिमीले मलाई मार्यौ भने म बना तिमीले कसरी जाल थाप्छौ ? कसले मिठो गीत सुनाएर तिमीलाई सुताउँछ ? मिठो बोल्ने चराहरूलाई बोलाइदिने काम कसले गर्ला ?"
उसको कुरा सुनेर सिकारीले उसलाई मार्ने बिचार छाडिदियो र घरमा पालेको भालेलाई समात्यो । त्यो भालेको भर्खर सिउर उम्रन थालेको थियो । त्यो भालेले खोरभित्रबाट बडो करुण स्वरमा दयाको भीक्षा माग्दै भन्यो, "तिमीले मलाई मार्यौ भने बिहानी भएको सूचना तिमीलाई कसले देला ? तिम्रो दैनिक काममा कसले तिमीलाई सघाउला ? कसले तिमीलाई चराको जाल बटुल्न जाने बेला भएको जानकारी देला ?"
भालेको कुरा सुनेर सिकारीले जवाफ दियो, "तिमीले भनेको सबै कुरा साँचो हो । दिन रात समयको सूचना दिने तिमी बडो उपयोगी चरा हौ । तर, मैले मेरो साथीलाई मासु ख्वाउनै पर्छ । ऊसँग बसेर भोज खानै पर्छ । यसैले तिमीलाई काट्न बाध्य छु । खाँचो परेपछि कसको के लाग्छ ?"
९ कुबेलाको सल्लाह
एउटा केटो नुहाउँदा नुहाउँदै पानीमा बुड्न लाग्यो । उसले त्यही बाटो हुँदै हिँडिरहेको बटुवासँग गुहार माग्यो । तर त्यो बटुवाले केटोलाई पानीबाट निस्कन सघाउनुको सट्टा चासो नै नभएजस्तो गरी किनारामा उभिएर केटोलाई उसको मुर्खताको लागि गाली गर्न थाल्यो ।
केटो आत्तिँदै चिच्यायो, "हजूर, दया गरेर पहिले मलाई मदत गर्नुस् र पछि जति मन लागेको गाली गर्नुहोला । म मरेँ भने तपाईँको गालीको के काम ?"
१० भाले र हीरा
भालेले आफू र आफ्नी पोथीको लागि चारो खोज्दैथियो । चारोका लागि भुइँ खोस्रँदा उसले एउटा दामी हीरा भेट्टायो । ऊ खुशीले चिच्यायो, "यदि मेरो सट्टा तिम्रो मालिकले तिमीलाई भेट्टाएको भए ऊ कति खुशी हुने थियो होला । उसले तिमीलाई ठूलो इज्जत, मानसम्मान दिएर राख्नेथियो होला । मलाई त संसारभरिको हीराभन्दा त एक घोँगा मकै काम लाग्छ ।"
११ कामिला र ढुकुर
एउटा कमिला खोलामा पानी खान गयो । उसलाई खोलाले बगायो । रुखको हाँगामा बसेको एउटा ढुकुरले कमिला पानीमा डुब्न लागेको देख्यो । उसले एउटा पात टिपेर कमिलाको नजिकै पानीमा खसाल्यो । कमिला पातमाथि चढ्यो र खोलाको किनारामा आइपुग्यो ।
केही बेरपछि एउटा चरा-सिकारी रुखमुनि आयो र रुखको हाँगामा बसेको ढुकुरलाई मार्न गुलेली ताक्यो । ढुकुरमाथि खतरा आइलागेको देखेर कमिलाले सिकारीको औँलामा टोक्यो । अचानक कमिलाको टोकाइले गर्दा उसले ताकेको गुलेली ढुकुरलाई लागेन । ढुकुर उडेर गयो ।
१२ चमेरा, चरा र पशुहरू
चरा र पशुहरूबीच भयंकर लडाइ हुन लागेको थियो । दुई पक्षका लडाकुहरू आमुन्नेसामुन्ने भएर लडन लागेको बेलामा चमेराले कता लाग्ने भन्ने निधो गर्नसकेन । उसको नजिक बस्ने चराहरूले भने, "आऊ मिलेर लडौँ ।"
"तर म त पशु हुँ नि ।" चमेराले भन्यो । ऊ नलडी बस्यो ।
केही बेर पछि पशुहरू आएर उसललाई भने, "आऊ हामीसँग मिलेर लड ।" तर उसले जवाफ दियो, "म त चरा हुँ । मेरो पखेटा देखेनौ ?"
लडाइँ हारजित बिना टुँगियो । दुबै पक्षले मेलमिलाप गरे ।
चराहरू मेलामिलापको खुशियाली मनाइरहेका थिए । चमेरा उनीहरूकहाँ पुग्यो र खुशियालीको भोजमा सामेल हुन खोज्यो । तर चराहरूले उसको पहिलेको व्यवहार सम्झेर उसलाई त्यहाँबाट धपाइदिए ।
चमेरा उड्दै पशुहरूले खुशियाली मनाइरहेको ठाउँमा पुग्यो । तर पशुहरूले उसलाई झण्डै मारेनन् । ऊ भाग्दै आफ्नो ओढारमा गयो र मनमनै भन्यो, "कसैको पक्ष नलाग्नेको साथी पनि हुँदो रहेनछ ।"
१३ केटो र बयर
आमाले घैँटोमा पाकेका बयर राख्नु भएको थियो । केटोले बयर खान खोज्यो । उसले घैँटोभित्र हात घुसार्यो । उसले सकेसम्म धेरै बयर मुठ्ठीमा लियो र हात बाहिर झिक्न खोज्यो । तर घैँटोको मुख सानो भएकोले उसले आफ्नो हातको मुठ्ठी बाहिर झिक्नसकेन । उसले मुठ्ठीमा भएको बयर छोड्न चाहन्नथ्यो । तर मुठ्ठी नफुकाइकन हात बाहिर झिक्न पनि सकिन्नथ्यो । यसैले केटो रुन थाल्यो ।
छोरो रोएको सुनेर आमाले के भयो भनेर हर्न आइन् । घैँटोभित्र हात अडकेको देखेर उनले भनिन्, "मुठ्ठीमा भएको आधा बयर घैँटोभित्रै खन्यायौ भने तिम्रो हात सजिलैसँग बाहिर आइहाल्छ नि । त्यसैले त धेरै लोभ गर्न हुन्न भनेको हो ।"
१४ केटाहरू र भ्यागुता
पँधेराको नजिकै केटाहरू खेलिरहेका थिए । पँधेरामा भ्यागुताहरू पानीभित्र बाहिर उफ्रिरहेका थिए । भ्यागुताहरू उफ्रिरहेको देखेर केटाहरूले उनीहरूमाथि ढुंगाले हान्न थाले । धेरै भ्यागुताको ज्यान गयो । अति भएपछि एउटा भ्यागुताले साहस गरेर पानीबाट टाउको बाहिर निकाल्यो र केटाहरूतिर हेर्दै भन्यो, "भाइहरू हो । दया गर । ढुंगा हन्न छाड । तिमीहरूको लागि रमाइलो खेल भइरहेछ । तर हाम्रो त ज्यान गइरहेको छ ।"
१५ सुनको फुल पार्ने हाँस
एउटा गाउँलेले हाँस पालेको थियो । एक दिन उसले हाँसको खोरमा राखेको फुल पार्ने डालोमा पहेँलो रंगको फुल देख्यो । उसले फुल उचालेर हेर्यो । ढुंगाभन्दा गह्रुँगो थियो । उसले त्यो फुल मिल्काउन खोज्यो । किन भने कसैले उसलाई जिल्याउन ढुँगाको फुल राख्यो होला भन्ने उसले ठान्यो । तर उसले त्यो फुल फालेन, घर लैजाने बिचार गर्यो । घरमा लगेर हेर्दा त ऊ छक्कै पर्यो । किनभने त्यो फुल त शुद्ध सुनको फुल रहेछ ।
भोलिपल्ट विहान हाँसको खोरमा हेर्दा फेरि अर्को सुनको फुल देख्यो । उसले दिनदिनै सुनको फुल बटुल्न थाल्यो । दिनदिनै सुनको फुल बेचेर ऊ निक्कै धनी भयो । धेरै धनी भएपछि उसको लोभ बढ्दै गयो । उसले दिनदिनै फुल बटुलेर बेच्नुको सट्टा हाँसको पेटभित्र भएको सब फुल एकै चोटि निकाल्ने बिचार गर्यो ।
अनि एक दिन उसले हाँसलाई काट्यो र उसको फेट चिरेर हेर्यो । तर त्यहाँ एउटा पनि सुनको फुल थिएन ।
१६ किसान र सारस
बारीमा बिउ र्छर्ने बित्तिकै बकुल्ला चराको बथान आएर खाइदिन्थ्यो । दिक्क भएर किसानले बारीमा जाल थाप्यो । जालमा धेरै बकुल्लाहरू परे । बकुल्लाहरूको माझमा एउटा सारस पनि परेको थियो । उसको खुट्टा जखमी भएको थियो ।
जखमी सारसले किसानसँग बडो मायालाग्दो स्वरले आफ्नो जीवन बचाइदिन बिन्ती गर्यो । उसले भन्यो, "मालिक ! मलाई बचाउनुहोस् । मलाई छाडिदिनुस् । मेरो खुट्टा भाँचिएको छ । हेर्नुस् । दया गरेर एक पल्ट मलाई छाडिदिनुस् । तपाईँले बकुल्लाहरूलाई समात्न जाल थाप्नु भएको हो । म बकुल्ला होइन सारस हुँ । म कति घरानियाँ जातको चरा हुँ भन्ने कुरा तपाईँलाई थाहै छ । म साह्रै राम्रो चरित्रको चरा हुँ । म मेरा आमाबुवालाई धेरै माया गर्छु । मेरा पखेटा र प्वाँखहरू हर्नुस् त । म कत्ति पनि ती बकुल्लाजस्तो छैन ।"
सारसको कुरा सुनेर किसान हाँस्यो । उसले भन्यो, "तिमीले भनेका सबै कुरा साँचो होला । तर के गर्ने मैले तिमीलाई यी दुष्ट चोर बकुल्लाहरूसँगै समातेँ । तिनीहरूको हुलमा मिसिएपछि तिमी पनि मर्नै पर्छ । संगत गुनको फल भनेको यही हो ।"
१७ बिराली र प्रेमकी देवी
एउटी बिराली एक जना सुन्दर मानिसको प्रेममा परी । उसले प्रेमकी देवीसँग आफूलाई नारीमा बदलिदिन विन्ती गरी । प्रेमकी देविले उसको कुरा स्वीकार गरिन् र बिरालीलाई राम्री तरुनीमा बदलिदिइन् । सुन्दर मानिसले उसलाई देखेर मख्ख पर्यो । ऊ उसको प्रेममा फँस्यो र बिहे गरेर उसलाई घर भित्र्यायो ।
प्रेमकी देवीलाई बिहे भएपछि बिरालीले आफ्नो बानी छाडी कि छाडिन भन्ने जान्न मन लाग्यो । दुलहादुलही कोठामा एकान्तमा बसेको बेलामा उनले एउटा मुसो कोठाभित्र छाडिदिइन् । मुसालाई देख्ने बित्तिकै बिरालीले आफू मानिसमा बदलिएर दुलही भएको कुरा बिर्सेर मूसामाथि झम्टी । उसको चाल देखेर प्रेमकी देवी निराश भइन् । उनले बिरालीलाई तरुनी महिलाबाट फेरि बिरालीमै परिणत गरिदिइन् ।
१८ कमिला र प्यूपा
एउटा प्यूपा पुतलीमा परिणत हुन लागेको थियो । उसले आफ्नो पुच्छर चलाइरहेको थियो । एउटा कमिला घाममा यताउति दौडिदै खानेकुरा खोज्न व्यस्त थियो । अचानक उसले प्यूपालाई देख्यो । ऊ छटपटाएको देखेर कमिलालाई दया लाग्यो । उसले भन्यो, "बिचरा ! कस्तो दुःखी जीवन रहेछ तिम्रो । म जहाँ मनलाग्यो त्यहाँ दगुर्नसक्छु । एकैछिनमा रुखको टुप्पामा पनि पुग्छु । तर यो बिचरोलाई त एक सिन्का जति सर्न पनि कति दुःख हुनेरहेछ ।"
प्यूपाले कमिलाको कुरा सुन्यो, तर केही जवाफ दिएन ।
केही दिनपछि कमिला त्यही बाटो हिँडिरहेको बेलामा उसले त्यहाँ प्यूपाको खोलमात्रै देख्यो । बिचरा प्यूपा के भयो होला भनेर कमिलाले सोच्दै थियो । त्यही बेला उसले उसमाथि एउटी राम्री पुतलीको छाया परेको र पुतलीका ठूला पखेटाले आफूलाई हम्केको उसले चाल पायो । पुतलीले भनी, "मलाई हेर त । म उही तिम्रो बिचरा साथी हुँ । अब तिमी कत्तिको दगुर्न र रुख चढ्न सक्छौ मसँगसँगै हिँडेर देखाऊ त ।" यति भनेर पुतली हावामा उडेर माथिमाथि कमिलाले देख्नै नसक्ने गरेर उडेर गई । त्यसपछि उनीहरूको कहिल्यै भेट भएन ।
१९ दियो
तेलले ढाडिएको एउटा दियो थियो । ऊ निक्कै चहकिलो भएर बलिरहेको थियो । उसले, "मैले सूर्यलेभन्दा धेरै उज्यालो दिन्छु " भनेर घमण्ड गर्यो । त्यही बेला एक झोँक्का हावा चल्यो । दियो झ्याप्पै निभ्यो । दियोको मालिकले त्यसलाई फेरि बाल्यो र भन्यो, "अबदेखि घमण्ड नगर । चुपचाप भएर उज्यालो दिइराख । तारा पनि एक दिन निभ्छ भन्ने कुरा नबिर्स ।"
२० लोभी र इर्ष्यालु
दई जना छिमेकीहरू महादेवकहाँ गए र उनीहरूको मनको इच्छा पूरा गरिदिन विन्ती गरे । तीमध्ये एक जना साह्रै लोभी थियो । धन भनेपछि हुरुक्कै हुन्थ्यो । अर्को इर्ष्याको आगोले बलिरहन्थ्यो । महादेवले उनीहरूको आशय बुझे । उनले ती दुबैलाई सजाय दिने विचार गरे ।
महादेवले भने, "दुबैको इच्छ पूरा गराइदिन्छु । तर एउटा सर्त मान्नुपर्छ । एक जनाको इच्छा पूरा हुँदा त्यसले जेजति पाउँछ त्यसको छिमेकले त्यसको डबल पाउँछ ।"
दुबैले र्सत मन्जुर गरे ।
लोभीले आफ्नो घरको एउटा कोठा सुनले भरियोस् भनेर चितायो । उसको एउटा कोठा भरि सुन भयो । तर उसको छिमेकका दुइटा कोठा सुनले भरिए । यो देखेर लोभी साह्रै दुखी भयो ।
त्यसपछि इर्ष्यालु छिमेकीको पालो आयो । उसले इखले गर्दा आफ्नो छिमेकीको सुख देख्न सकेन । यसैले उसले आफ्नो एउटा आँखा फुटोस् भनेर महादेवसँग माग्यो । जसले गर्दा उसको छिमेकीको दुइटै आँखा फुटोस् । यसैले भनिन्छ दुष्टयाइँको सजाय आफै पाइन्छ ।
२१ कुकुर र ब्वाँसो
एउटा दुब्लो ब्वाँसो भोकले मर्न लागेको थियो । संयोगले उसको भेट एउटा पाल्तु कुकुरसँग भयो । दुब्लाएर मर्न लागेको ब्वाँसोलाई देखेर कुकुरले भन्यो, "ओ हो भाइ, तिमीलाई बाँच्न कति गाह्रो छ हैन त ? खाने सुत्ने ठेगान पनि छैन । यो त अचाक्ली नै भयो । यसरी पनि कसरी बाँच्छौ ? बरु मैले झैँ कतै काम गरे हुन्थ्यो नि । यसो गर्यो भने खाने कुरा त बेलामा खान पाउँथ्यौ ।"
"हो त नि । काम पाए त मैले पनि गर्थे ।" ब्वाँसोले भन्यो ।
"तिम्रो लागि काम पाउन केको गाह्रो । मैले खोजिहाल्छु नि । लौ मसँगै सहरमा जाउँ तिमी र मिलेर काम गरौँला ।" कुकुरले भन्यो ।
यस्तो सल्लाह गरेर कुकुर र ब्वाँसो सहरतिर लागे । बाटोमा हिँडदाहिँडदै ब्वाँसोले कुकुरको घाँटीको रौँ खुइलिएको देख्यो । कसरी यस्तो भएको होला भनेर जान्न उसलाई खुल्दुली लाग्यो । कसरी यस्तो भयो भनेर उसले कुकुरसँग सोध्यो ।
कुकुरले जवाफ दियो, "यो केही होइन । राती मलाई घाँटीमा बाँधेको दाग हो । सुरुसुरुमा अलिअलि चहर्याउँ छ । पछिपछि बानी पर्छ । केही हुँदैन ।"
"ए ! रातभरि भए पनि बाँधिनु पो पर्ने रहेछ । त्यसो भए तिम्रो जागिर मलाई चाहिएन । लौ म त यहीँबाट फर्केँ । मोटे घर्ती भएर बस्नुभन्दा भोकै मर्नु बेस ।"
२२ तिर्खाएको कौवा र घैँटो
एउटा कौवा साह्रै तिर्खाएको थियो । उसले पानी राख्ने घैँटो देख्यो । ऊ घैँटोको मुखमा बस्यो र पानी खान खोज्यो । तर पानी घैँटोको पीँधमा भएकोले उसले पानी खान सकेन । उसले पीँधमा भएको पानी खान धेरै पल्ट कोसिस गर्यो तर सकेन । ऊ निराश भएर उड्नै लागेको थियो । त्यसै बेला उसको मनमा एउटा विचार आयो ।
कौवा उडेर केही पर गयो जहाँ सानासाना गुच्चाजत्रा ढुंगा थिए । उसले चुच्चोले एकएक वटा ढुंगा ओसार्दै घैँटोभित्र राख्न थाल्यो । घैँटोको पीँध ढुंगाले भरिएपछि पानी माथि आयो । अब उसले सजिलैसँग पानी खान सक्थ्यो । यसरी बुद्धि पुर्याएर कौवाले पानी खायो र फुर्तिलो भएर उडेर गयो । थोरैथारै गरेर भए पनि प्रयास गरे सफल भइन्छ ।
२३ कुकर र उसको छायाँ
एउटा कुकुरले एक टुक्रा मासु भेटायो । घरमा आरामसँग बसेर खाने बिचारले मुखमा मासुको टुक्रा च्यापेर ऊ घरतिर लाग्यो । बाटोमा खोला थियो । खोलामा काठको साँघु थियो ।
साँघु तर्दै गर्दा कुकुरले पानीमा आफ्नै छाया देख्यो । पानीभित्रको कुकुरको मुखमा पनि मासुको टुक्रा थियो । छायालाई अर्को कुकुर ठानेर उसले रिसले भुक्न खोज्यो । भुक्नका लागि मुख खोल्दा उसको मुखबाट मासुको टुक्रा खोलामा खस्यो । बिचरो कुकुर हिस्स पर्यो । पानीभित्र कुकुर कसरी हुनसक्छ भन्ने विचारै नगरी रिसले झम्टन खोज्दा आफ्नै नोक्सान भयो ।
२४ माझी र सानो माछा
एक जना माझी थियो । उसले दिनभरि खोलामा माछा मार्ने कोसिस गर्दा पनि उसको जालमा एउटा पनि माछा परेन । थाकेर घर फर्कने बेलामा उसले एउटा सानो माछा समात्यो ।
माझीको हातमा परेको सानो माछाले विनम्र भएर माझीलाई भन्यो, "बिन्ती छ हजूर मलाई नमार्नुस् । म साह्रै सानो छु । तपाईँको एक गाँस पनि हुन्न म । बरु अहिले मलाई पानीमा छाडिदिनु भयो भने केही दिनपछि म ठूलो हुन्छु । अनि आएर समात्नु होला ।"
माछाको कुरा सुनेर माझीले भन्यो, "यस्तो पनि हुन्छ र - अहिले पो तिमी मेरो हातमा छौ । तिमीलाई फेरि पनि समात्न सकुँला भन्ने के निधो छ र ! हातको माछालाई पानीमा छाडेर ठूलो माछा खोज्नु बुद्धिमानी होइन ।"
२५ माझीको फन्दामा परेका माछाहरू
एक पल्ट एक जना माझी बाँसुरी लिएर खोलाको छेऊमा गयो र माछालाई सुनाउन बाँसुरी बजाउन थाल्यो । उसको बाँसुरीको धुन सुनेर माछाहरूले पानीबाट टाउको निकाल्ने छन् भन्ने उसले आश गरेको थियो । तर एउटा माछाले पनि टाउको बाहिर निकालेन ।
हैरान भएर माझीले जाल हान्यो । जालमा थुप्रै माछा परे । माछालाई जालमै राखेर उसले फेरि बाँसुरी बजाउन थाल्यो । यस पटक भने जालभित्रका माछाहरू बाँसुरीको धुनको तालमा उफ्रन थाले ।
"अब बल्ल नाच्ने बुद्धि आयो तिमीहरूको ?" माझीले भन्यो ।
एउटा बूढो माछाले जालबाट टाउको निकाल्दै भन्यो, "हो मालिक । मानिसको फन्दामा परेको बेलामा उसले जेजे भन्यो त्यहीत्यही गर्नै पर्छ । नत्र कसरी बाँचिन्छर !"
२६ चार साँढे र सिंह
एउटा खेतमा चार वटा साँढे बस्थे । एउटा सिंह बेलाबेलामा खेतमा घुम्न जान्थ्यो । उसले साँढेहरूमाथि आक्रमण गर्न धेरै पटक कोसिस गर्यो । सिंहले आक्रमण गर्दा ती साँढेहरू मिलेर एक ढिक्का हुन्थे । सिंहले जताबाट हमला गरे पनि उनीहरूले तीखो सिंङले उसलाई घाइते पार्थे ।
आखिरमा एक दिन सांढेहरूको बीचमा झगडा भयो । उनीहरू मिलेर चर्न छाडे र खेतको बेग्लाबेग्लै कुनामा एक्लाएक्लै चर्न जान थाले । यसरी एक्लै चरेको बेलामा सिंहले सजिलैसँग हमला गर्यो र एकएक वटा सांढेलाई पालैपालै गरेर मारेर खायो । भाइ फुटे गँवार लुटे भनेको यही हो ।
२७ फ्याउरोको सय दाउ बिरालोको एक दाउ
एउटा फ्याउरोले शत्रुबाट जोगिनका लागि ऊसँग थुप्रै उपायहरू छ भनेर बडो फुर्ती लगायो । "मसँग झोलाभरि दाउपेच छन् । म सयौँ उपायद्वारा शत्रुबाट जोगिनसक्छु" फ्याउरोले भन्यो ।
"मसँग त एउटा मात्रै दाउ छ । तर त्यही एउटा दाउले पनि म शत्रुबाट जोगिनसक्छु ।" बिरालोले भन्यो ।
त्यही बेला उनीहरूले एक हुल सिकारी कुकुरहरू उनीहरूतिर दगुर्दै आइरहेको देखे । बिरालो हत्तपत्त उफ्रेर रुखमाथि चढ्यो र रुखका हाँगा र पातहरूबीच लुक्यो । "मेरो तरिका यही हो ।" बिरालोले भन्यो । उसले फ्याउरोसँग सोध्यो, "तिम्रो तरिका के हो नि ?"
तर फ्याउरोले कुन दाउ चाल्ने भन्ने सोच्नै भ्याएन । सिकारी कुकुरहरूले उसलाई समाते र मारे ।
फ्याउरोको दुर्गति देखेर बिरालोले मनमनै भन्यो, "बरु एउटै दाउ बेस । बेलामा काम नलाग्ने सय वटा दाउ जानेर के गर्ने ?"
२८ फ्याउरो र कौवा
एउटा कौवाले ठोँडमा रोटी च्यापेर उडेको एउटा फ्याउरोले देख्यो । कौवा एउटा रुखको हाँगामा बस्यो । कौवाको मुखको रोटी देखेर फ्याउरोलाई लोभ लाग्यो । उसले त्यो रोटी कौवाको मुखबाट फुत्काउने जुक्ति निकाल्यो ।
फ्याउरो कौवा बसेको रुखको हाँगामुनि गयो र बडो मिठो स्वरले भन्यो, "कौवा बहिनी ! तिमीलाई संचै छ ? तिमी त कति राम्री भइछ्यौ । तिम्रो पखेटा कस्तो टलक्क टल्केको ! तिम्रा गाजलु आँखा कति चम्केका ! तिम्रो स्वर पनि त्यत्तिकै मिठो छ होला हैन र ? तिमीलाई त चराकी रानी बनाउनु पर्ने हो । धेरै दिनदेखि तिम्रो सुरिलो स्वर सुन्न मन लागेको थियो । बल्ल आज मौका पाइयो । एउटा मिठो गीत सुन्न पाए त तिम्रो ठूलो गुन मान्ने थिएँ ।"
फ्याउरोको कुरा सुनेर कौवा मख्ख पर्यो । उसले आफ्नो ठोँडमा रोटी च्यापेको बिर्स्यो र गर्वले फुलेर आँखा चिम्लेर गीत गाउन थाल्यो । का..का...का !
गीत गाउन कौवाले मुख खोल्ने बित्तिकै उसको मुखको रोटी तल खस्यो । रोटी भुइँमा पर्न नपाउँदै फ्याउरोले च्याप्प सामात्यो । रोटी खाँदै फ्याउरोले कौलालाई भन्यो, "यो रोटीको बदलामा मैले तिमीलाई एउटा राम्रो सल्लाह दिन्छु । कसैले तारिफ गरेर फुर्काउँदैमा नफुर्क । झुटो प्रशंसा नपत्याऊ ।"
२९ फ्याउरो र बोका
एक पल्ट एउटा फ्याउरो गहिरो इनारभित्र खस्यो । ऊ इनारबाट बाहिर आउन सकेन । त्यसै बेला एउटा दाह्रीवाल बोका पानी खान इनारमा आइपुग्यो । इनारभित्र के गर्न लागेको भनेर बोकाले फ्याउरोसँग सोध्यो । फ्याउरोले भन्यो, "खडेरी पर्दैछ भन्ने कुरा तिमीले सुनेका छैनौ ? त्यसैले मैले धेरै दिनलाई पुग्ने गरी पानी खान आएको नि । तिमीले पनि पानी खाने भए भित्र आऊ ।"
फ्याउरोको कुरा सुनेर बोका इनारभित्र जान हतारियो । ऊ उफ्रेर झ्वाम्लांग इनारमा हामफाल्यो ।
त्यसै बेला फ्याउरो बोकाको जिउमाथि चढयो र दुइटा खुट्टाले उसको टाउकोमाथि टेकेर इनारबाहिर निस्क्यो । बोकासँग विदा हुने बेलामा फ्याउरोले भन्यो, "आपतमा परेको मानिसले दिएको सल्लाह कहिल्यै नमान्नु बुझ्यौ ?"
३० फ्याउरो र अंगुर
गर्मीको दिन थियो । घाममा हिँडदाहिँडदा थाकेको एउटा फ्याउरो अंगुर बारीमा पस्यो । उसले त्यहाँ भर्खर पाक्न लागेका अंगुरका ठूलाठूला रसिला झुप्पाहरू देख्यो । "यो अंगुर खाएर तिर्खा मेट्नु कस्तो मज्जा होला !" फ्याउरोले मनमनै भन्यो ।
अंगुरको झुप्पा भेट्टाउन फ्याउरो उफ्र्यो । तर अंगुरका लहरा अग्लो ठाउँमा भएकोले उसले भेट्टाउन सकेन । ऊ धेरै पटक उफ्र्यो तर उसले भेट्टाउन सक्दैसकेन ।
आखिरमा निराश भएर "यी अंगुरहरू पक्कै पनि अमिला होलान् ।" भन्दै ऊ अंगुरको बगैँचाबाहिर निस्क्यो ।
३१ फ्याउरो र सिंह
एउटा फ्याउरोले पहिलो पल्ट सिंहलाई देख्दा यस्तो गरी तर्स्यो कि ऊ भागेर ओडारभित्र लुक्न गयो । अर्को पल्ट भेटदा ऊ त्यति धेरै डराएन । तैपनि ऊ सिंहभन्दा केही पर बसेर सिंहलाई हेरिह्यो । तेस्रो पल्ट भेटदा फ्याउरो सरासर सिंहको नजिक गयो र भलाकुसारी गर्यो । सिंहको नजिकै धेरै बेरसम्म बस्यो । उसले सिंहको जहान परिवारको बारेमा पनि सोध्यो । विदा हुने बेलामा उसले सिंहसँग फेरि कहिले भेटने भनेर पनि सोध्यो । छुट्टिँदा उसले कुनै औपचारिक अभिवादन गरेन । पुच्छर फर्काएर घरतिर लाग्यो । यसैले भनिन्छ धेरै घनिष्ट भयो भने मानमर्यादा रहन्न ।
३२ फ्याउरो र मकुण्डो
एउटा फ्याउरो संयोगले नाटक घरको भण्डारमा पस्यो । उसले त्यहाँ कसैले उसलाई घुरेर हेरिरहेको चाल पायो । पहिले त ऊ तर्स्यो । तर अलि नजिक गएर हेर्दो उसलाई हेर्ने एउटा मकुण्डो रहेछ भन्ने थाहा पायो । त्यो मकुण्डो नाटक खेल्दा कलाकारले लाउने रहेछ । अनि फ्याउरोले मकुण्डोलाई भन्यो, "तिमी त दुरुस्तै मान्छजस्तै देखिन्छौ । तर तिम्रो मगज रहेनछ बिचरा ! बाहिरी रूपले मात्रै कतिबेर झुक्याउन सकिन्छर ?"
३३ फ्याउरो र लाम्खुट्टे
एक पल्ट एउटा फ्याउरोको पुच्छर एउटा झयाङमा अडकियो । ऊ त्यहाँबाट कतै जान सकेन । रात परेपछि लाम्खुट्टेहरूको बथाल आएर उसको रगत चुस्न थाल्यो । पुच्छर अडकेको हुनाले उसले तिनीहरूलाई धपाउन सकेन । उसको रगत पिएर लाम्खुट्टेहरू निक्कै रमाए ।
फ्याउरोको दुर्दशा देखेर एउटा दुम्सीलाई दया लाग्यो । उसले फ्याउरोको नजिक गएर भन्यो, "ओ हो ! लाम्खुट्टेले कस्तो दुःख दिएछ तिमीलाई ! तिम्रो रगत चुस्ने लाम्खुट्टेहरूलाई धपाइ दिउँ कि ?"
दुम्सीको कुरा सुनेर फ्याउरोले भन्यो, "तिम्रो सहयोगको लागि धन्यवाद छ । तर यी लाम्खुट्टेलाई धपाउने काम नगर ।"
"किन ? तिमीलाई यसरी दुःख दिइरहेका लाम्खुट्टेलाई धपाउनु पर्दैन ?" दुम्सीले छक्क पर्दै सोध्यो ।
फ्याउरोले जवाफ दियो, "हेर यी लाम्खुट्टेहरूले सकेसम्म मेरो रगत खाइसके । यिनीहरूको पेट भरिइसक्यो । तै पनि लोभले गर्दा यिनीहरूले मलाई छाडन सकेका छैनन् । यदि तिमीले यिनीहरूलाई धपायौ भने अरु भोका लाम्खुट्टेहरू आउने छन् । अनि तिनीहरूले पाए भने मेरो सास पनि बाकी राख्ने छैनन् ।"
३४ फ्याउरो र सारस
फ्याउरो र सारस निक्कै मिल्ने साथी थिए । उनीहरूको एकअर्काको घरमा आवत जावत थियो । एक पल्ट फ्याउरोले सारसलाई घरमा भोज खान डाक्यो । उसलाई सारससँग ठट्टा रमाइलो गर्न मन लाग्यो । यसैले उसले भोज खाने बेलामा उसको अगाडि एउटा पातलो थालमा मासुको सुरुवा राखेर दियो । आफ्नो लागि पनि उसले थालमै सुरुवा राख्यो ।
फ्याउरोले थालको सुरुवा जिब्रोले चाट्दै मजासँग खायो । तर सारसको ठोँड लामो भएको हुनाले उसले थालबाट सुरुवा खान सकेन । बिचरा सारस भोकै फर्कनु पर्यो । फर्कने बेलामा फ्याउरोले भन्यो, "तिमीलाई सुरुवा मन परेनछ । मलाई माफ गर ।"
"माफ माग्नु पर्ने कुरै छैन । बरु अर्को पटक मकहाँ भोज खान आऊ न ।" बिदा हुने बेलामा सारले भन्यो ।
केही दिनपछि सारसले फ्याउरोलाई भोज खान डाक्यो । तर त्यो दिनको भोज लामो घाँटी भएको सुराहीमा राखेर दिइएको थियो । सारसले लामो ठोँडले सजिलैसँग सुराहीभित्रको सुरुवा खायो । तर बिचारा फ्याउरोको मुख सुराही भित्र पसेन । उसले सुरुवाको गन्ध सुँघेर अनि सुराहीको बाहिर चाटेर चित्त बुझाउनु पर्यो ।
विदा हुने बेलामा सारले भन्यो, "तिमीले भोज खान नसकेकोमा मलाई खुशी नै लागेको छ किनकि जस्तालाई तस्तै भन्ने आहानै छ ।"
३५ पुच्छर नभएको फ्याउरो
एक पल्ट एउटा फ्याउरोको पुच्छर उसलाई समात्न राखेको धरापमा फँस्यो । उसले पुच्छर फुस्काउन सकेन । ज्यान फाल्नुभन्दा पुच्छर फाल्नु बेस भनेर उसले घरापबाट बल गरेर उम्कन खोज्दा उसको पुच्छर फेँदबाट चुँडियो ।
पुच्छर नभएपछि त्यो फ्याउरोलाई आफ्नो समूहमा जान लाज लाग्यो । ऊ केही दिन ओडारभित्र लुकेर बस्यो । तर यसरी कति दिन काम चल्थ्यो र !
एक दिन ऊ दरिलो मुटु लिएर अनि हँसिलो अनुहार बनाएर ओडारबाट बाहिर निस्क्यो । उसले बनका सबै फ्याउराहरूको भेला डाक्यो । सबै फ्याउरा भेला भए पछि उनीहरूको अगाडि उसले एउटा प्रस्ताव राख्यो, "हामी फ्याउराहरूको लागि हाम्रो पुच्छर साह्रै झंझट रहेछ । वास्तवमा यो एउटा श्रापजस्तै हो । लौ मलाई हेर पुच्छर नभएपछि म कति फुर्तिलो भएको छु । पुच्छरबिनाको जिऊ साह्रै हल्का पनि हुन्छ । दगुर्न, हिँडन, चल्न सजिलो हुने रहेछ । सिकारी कुकुले लखेट्दा पनि भाग्न सजिलो हुन्छ । पुच्छर भएन भने थचक्क बस्न पनि सजिलो । यो पुच्छरको कुनै कामै छैन । यसैले तिमीहरू सबैले आआफ्नो पुच्छर काटेर फ्याँक ।"
पुच्छर नभएको फ्याउरोको कुरा सुनेर एउटा बूढो फ्याउरोले भन्यो, "यी सबै कुरा त ठिक छ । तर आफ्नो पुच्छर नगुमाएको भए तिमीले हामीलाई हाम्रो यो पहिचान, हाम्रो जिउको अभिन्न गहना बनेको यो पुच्छरबाट अलग हुने प्रस्ताव राख्ने थियौ त ? स्वार्थ लुकेको सल्लाह पत्याउनु हुँदैन भन्ने भनाइ पनि छ ।"
३६ फ्याउरो, भाले र कुकुर
जुनेली रातमा एउटा फ्याउरो किसानको कुखुराको खोरमा पुग्यो । त्यहाँ उसले अग्लो ठाउँमा एउटा भाले बसेको देख्यो । उसले भालेलाई भेट्टाउन सक्तैनथ्यो ।
"कस्तो राम्रो खबर, कस्तो राम्रो खबर !" फ्याउरो करायो ।
"के खबर हो त्यस्तो ?" परैबाट भालेले सोध्यो ।
बनका राजा सिंहले बनलाई शान्तिको क्षेत्र घोषणा गरेका छन् । अबदेखि सबै पशुपन्छीहरू बनमा मिलेर बस्नु पर्ने छ । कसैले कसैलाई मार्न, घाइते बनाउन र कुनै प्रकारको हानी पुर्याउन पाउने छैन । सबै पशुपन्छी दाजुभाइजस्तै मिलेर बस्नु पर्ने छ ।"
त्यो सुनेर भालेले भन्यो, "यो त साह्रै राम्रो समाचार रहेछ । हेर त त्यहाँ को आउँदै छ । उसलाई पनि यो समाचार सुनाउनु पर्यो ।"
"त्यतातिरबाट को आउँदैछ ?" फ्याउरोले सोध्यो ।
"अरु कोही होइन । हाम्रो मालिकले पालेको सिकारी कुकुर हो । उसलाई पनि यो खबर सुनाउ न । बेसै होला ।"
सिकारी कुकुर आउन लागेको सुनेर फ्याउरोको होस उड्यो । ऊ त्यहाँबाट भाग्ने सुरले पछिपछि हट्न थाल्यो । उसको चाल देखेर भालेले सोध्यो, "किन ? कहाँ जान लागेको तिमी ? राम्रो खबर सुनाउने होइन ? शान्ति क्षेत्रको घोषणा भएको उपलक्ष्यमा उसलाई बधाइ दिने होइन ?"
"बधाइ दिन त हुन्थ्यो । तर उसले राजाको घोषणा सुन्नै पाएको छैन कि ? त्यसो भयो भने त उसले मलाई कहाँ बाकी राख्ला र ?" यति भन्दै फ्याउरो बनतिर दौड्यो । कहिलेकाहीँ दुष्टहरू आफ्नै जालमा फँस्छन् ।
३७ भ्यागुतो र साँढे
पँधेरामा भुडी पल्टाएर आराम गरिरहेको जंगी भ्यागुतोलाई फुच्चे भ्यागुतोले भन्यो, "ए बा ! मैले यस्तो डरलाग्दो दैत्य देखेँ । त्यो पहाड जत्रो थियो । त्यसको टाउकामा सिङ थिए । पछाडि लामो पुच्छर थियो । त्यसका खुट्टामा दुइदुवटा खुर थिए ।"
"धत् लाटा ! त्यो त किसानको गोठको साँढे हो । त्यो त्यति ठूलो पनि छैन । ऊ अवश्य पनि मभन्दा केही अग्लो होला । तर म ऊ जत्तिकै मोटो हुनसक्छु । लौ हेर ।" यति भनेर जंगी भ्यागुतोले आफ्नो जिउ सकेसम्म फुलायो र छोरासँग सोध्यो, "त्यो साँढे यति ठूलो थियो ?"
"ओहो ! कहाँ न कहाँको ठूलो थियो त्यो त ।" फुच्चेले जवाफ दियो ।
जंगे भ्यागुताले फेरि आफ्नो जिउ फुलायो । अनि उसले फेरि फुच्चेसँग सोध्यो, "के त्यो यति ठूलो थियो त ?"
"बा, त्यो त तपाईँभन्दा कता हो कता ठूलो थियो ।" फुच्चेले भन्यो ।
फुच्चेको कुरा सुनेर जंगे भ्यागुताले लामो सास तान्यो र फेरि आफ्नो जिउ फुलाउन थाल्यो । ऊ फुलेर भकुण्डोजस्तो भयो । उसले फेरि सोध्यो, "अब त पक्कै पनि त्यो सँढे यति ठूलो थियो होला ...."
यति भन्दाभन्दै जंगे भ्यागुताको जिऊ फुटयो र ऊ मर्यो । धेरै घमण्ड गर्दा नासिन्छ भनेको यही हो ।
३८ राजा खोज्ने भ्यागुताहरू
एउटा पोखरीमा भ्यागुताहरू आनन्दसाथ जीवन विताइरहेका थिए । उनीहरू दिनभरि पानीमा खेल्थे । भोक लागेको बेलामा किरा मारेर खान्थे । पोखरीमा उनीहरूको कुनै शत्रु पनि थिएन । उनीहरूलाई कुनै चिन्ता थिएन । तर उनीहरूमध्ये कसैकसैको के बिचार थियो भने यसरी आफूखुशी भएर बाँच्नु उचित होइन । उनीहरूलाई नियन्त्रण गर्ने कोही न कोही त हुनुपर्छ । एक जना राजा हुनुपर्छ । अनि राज्य चलाउने संविधान पनि हुनुपर्छ ।
यस्तो विचार गरेर उनीहरूले सृष्टिकर्ता ब्रहृमाजीकहाँ निवेदन दिए । उनीहरूले आफूहरूमाथि शासन गर्न एक जना राजा पठाइदिन विन्ती गरे ।
भ्यागुताहरूको कुरा सुनेर ब्रह्माजी हाँसे । उनले पोखरीको पानीमा काठको एउटा मुढा खसालिदिए । मुढा खस्दा पोखरीको पानी निकै छचल्कियो । पानीमा अचानक ठूलो छाल आएको देखेर भ्यागुताहरू डराएर पोखरीको किनारामा गए र पोखरीको माझमा झरेको विशाल जीवलाई हेर्न थाले । केही बेरपछि त्यो मुढा चल्न छाड्यो । यो देखेर केही भ्यागुताहरू मुढाको नजिकै गए । कसैले त्यसलाई छुने आँट पनि गरे । तै पनि त्यो चलेन । त्यसपछि एउटा फुर्तिलो भ्यागुता उफ्रेर मुढामाथि चढ्यो र नाच्न थाल्यो । अनि त सबै भ्यागुताहरू मुढामाथि चढेर उफ्रन, नाच्न र तलमाथि गर्न थाले ।
केही दिन त भ्यागुताहरूको लागि रमाइलै भयो । तर पछि उनीहरूले त्यो मुढाको वास्ता गर्न छाडे । उनीहरूलाई फेरि पनि चित्त बुझेन । उनीहरूले फेरि ब्रह्माजीकहाँ विन्ती गरे, "प्रभु, हामीलाई साँच्चिकै राजा चाहियो । यस्तो राजा जसले हामीमाथि शासन गर्नसक्छ ।"
भ्यागुताहरूको कुरा सुनेर ब्रह्माजीलाई रिस उठ्यो । यसैले उनले पोखरीमा एउटा बकुल्ला पठाइदिए । पोखरीको डिलमा बसेर बकुल्लाले एकएक गर्दै भ्यागुताहरूलाई खान थाल्यो । केही दिनपछि पोखरीका भ्यागुताहरू सिद्धिन थाले । बाकी भ्यागुताहरू पछुताए । निर्दयी राजा हुनु भन्दा राजै नहुनु बेस रहेछ भनेर उनीहरूले बुझे । तर अब पछुताएर के काम !
३९ खरायो र कछुवा
एक पल्ट एउटा खरायोले अरु जानवरहरूको अगाडि कत्तिको दगुर्न सक्छु भन्ने फुर्ती लगायो । उसले भन्यो, "दौड प्रतियोगितामा म कहिल्यै हारेको छैन । लौ यहाँ मसँग दौडन बाजी थाप्ने कोही छ भने अगाडि आऊ"
उसको हाँक सुनेर एउटा कछुवाले कत्ति पनि नआत्तिइकन भन्यो, "म तिम्रो हाँक स्वीकार गर्छु ।"
"यस्तो ठट्टा नगर भाइ । म त बाटोभरि तिम्रो वरिपरि नाच्दैनाच्दै दगुर्न सक्छु । के कुरा गरेको तिमीले ?" खरायोले भन्यो ।
"तिम्रो फुर्ती तिमीसँगै राख । लौ दगुर्ने तयारी गर ।" कछुवाले भन्यो ।
त्यसपछि दौड प्रतियोगिताको तयारी भयो । कहाँदेखि कहाँसम्म दौडने भन्ने निधो गरियो । दौड सुरु भयो । खरायो दगुरेर एकै छिनमा बेपत्ता भयो । केही पर पुगेर उसले पछाडि हेर्यो । कछुवा कतै देखिएन । कछुवालाई होच्याउन ऊ बीच बाटोमै आराम गर्न पल्टयो र एकै छिनमा निदायो ।
कछुवा भने बाटोमा कत्ति पनि नअडिइकन बिस्तारै हिँडिरह्यो, हिँडिरह्यो । केही बेरपछि खरायो निँदबाट ब्युँझ्यो । उसले कछुवालाई दौड सकिने लक्षमा पुग्नै लागेको देख्यो । ऊ बेतोडसँग दगुर्न थाल्यो । तर उसले जति कोसस गरे पनि कछुवालाई भेट्टाउन सकेन । अनि कछुवाले भन्यो, "निरन्तर लागि रहृयो भने विस्तारै हिँडे पनि जितिन्छ ।"
४० खरायो र भ्यागुताहरू
बनमा सबैजसो पशुहरूले खरायोहरूलाई नै हेप्थे । उनीहरूको बस्ने, खाने, खेल्ने सबै ठाउँमा अरु जानवरकै मनोमानी हुन्थ्यो । एक्लो जन्तु देख्दा पनि खरायोहरूको भागाभाग हुन्थ्यो । एक पल्ट जंगली घोडाको बथान आएर उनीहरूको घर भएको चौरमा उफ्रे, खेले । उनीहरूको सबै घर भत्के । यो देखेर खरायोहरू साह्रै निराश भए । उनीहरूले नजिकैको पोखरीमा गएर डुबेर मर्ने निधो गरे ।
खरायोको बथान पोखरीको किनारामा पुग्दा त्यहाँ खेलीरहेका भ्यागुताहरू तर्सेर पानीभित्र हामफाले । आफूहरूसँग भ्यागुताहरू डराएको देखेर एउटा खरायोले भन्यो, "ओ हो ! हामी भन्दा कातर, हामीसँग डराउने जन्तु पनि हुने रहेछ । हामी त त्यति धेरै कमजोर रहेन छौँ ।"
यस्तो कुरा थाहा पाएपछि उनीहरूले पोखरीमा डुबेर मर्ने बिचार त्यागे । आफूभन्दा कमजोर जीव जहाँ पनि हुनेरहेछ ।
४१ जरायो र सिकारी
एउटा जरायोले पोखरीमा पानी खाँदै थियो । उसले पानीमा आफ्नो छाया देख्यो । आफ्नो रूप देखेर ऊ दंग पर्यो । उसले मनमनै आफ्ना सिङहरूको तारिफ गर्यो । "आहा कति राम्रा मेरा सिङ ! यस्तो राम्रो सिङ भएको जरायो अरु को होला ! कुनै राजाको मुकुटभन्दा मेरो सिङ कम छैन । बरु मेरा यी खुट्टाहरू मेरो सिङसँग सुहाउने खालका छैनन् । यी मसिना खुट्टाहरूको सट्टा मोटा र सिङलाई सुहाउने खुट्टा भए कति बेस हुने थियो ।"
त्यसै बेला एक जना सिकारी आइपुग्यो र उसमाथि बाण हान्न थाल्यो । जरायो बेतोडले भाग्यो । उसका मसिना खुट्टाहरूको मदतले ऊ एकै छिनमा सिकारीबाट उम्क्यो । दगुर्दादगुर्दै ऊ बाक्लो रुखहरूको झ्याङभित्र पस्यो । तर उसको सिङ रुखका होँचा हाँगाहरूमा अल्झ्यो र ऊ त्यहीँ अडिकयो । एकै छिनपछि उसलाई खोज्दै सिकारी त्यहाँ आइपुग्यो ।
मर्ने बेलामा जरायोले भन्यो, "मैले मेरा काम लाग्ने खुट्टाहरूको बदख्वाइँ गरे । तर, मैले तारिफ गरेको मेरै सिङले नै मेरो ज्यान लियो ।"
४२ घोडा, सिकारी र जरायो
घोडा र जरायोबीच झगडा भयो । घोडाले सिकारीको मदत लिन खोज्यो । ऊ सिकारीकहाँ गयो र जरायोसँग बदला लिनको लागि मदत माग्यो । सिकारीले घोडालाई मदत गर्न मंजुर त गर्यो, तर उसले एउटा सर्त राख्यो, "यदि तिमीले जरायोलाई जित्ने हो भने तिमीले मेरा केही कुरा मान्नु पर्छ । तिमीले यो फलामको लगाम मुखमा राख्नु पर्छ , अनि तिम्रो पिठयुँमा काठी कसेर मैले चढन पाउनु पर्छ । यसो भयो भने मैले तिमीलाई मेरो सुरमा हिँडालेर जरायोलाई पछ्याउन सजिलो हुन्छ ।"
घोडाले सिकारीको सर्त मंजुर गर्यो । सिकारीले घोडाको मुखमा लगाम लगायो र उसमाथि काठी कस्यो । सिकारीको मदतले घोडाले जरायोलाई जित्यो । त्यसपछि उसले सिकारीसँग भन्यो, "अब मेरो पिठयुँबाट ओर्ल र मेरो मुखबाट लगाम पनि झिक ।"
यो सुनेर सिकारीले भन्यो, "किन आत्तिन्छौ ? बल्ल त मैले तिमीमाथि चढ्न थालेको छु । केही दिन यस्तै गरी बसन । के को हतार छ र !"
तिमीले आफ्नो उद्देश्य पूरा गर्नका लागि कसैलाई आफूलाई उपयोग गर्न दिन्छौ भने उसले आफ्नै उद्देश्य पूरा गर्न तिम्रो उपयोग गर्छ ।
४३ ज्यामी र बुलबुल चरी
गर्मीको दिन थियो । एक जना ज्यामीले राती बुलबुल चरीको गीत सुन्यो । उनलाई बुलबुलको स्वर यति मिठो लाग्यो कि उसले बुलबुलको गीत सुनेर रात काट्यो ।
भोलिपल्ट उसले बुलबुललाई समात्न पासो थाप्यो र समात्यो पनि । ज्यामी दंग पर्यो । उसले बुलबुललाई भन्यो, "मैले तँलाई समातेर पिँजडामा राखेँ र तँ मेरो कब्जामा छस् । अब तैँले मलाई गीत सुनाइराख्नु पर्छ ।"
"हामी बुलबुल चरीहरूले पिँजडाभित्र बसेर कहिल्यै गाउँदैनौँ । मिठो गीत गाउन त हामीलाई खुला आकाश चाहिन्छ ।" बाठो बुलबुलले भनी ।
"त्यसो भए तँलाई म पोलेर खान्छु । तेरो मासु निक्कै स्वदिलो हुन्छ भन्ने मैले सुनेको थिएँ ।" ज्यामीले भन्यो ।
"होइन । मलाई नमार । मलाई स्वतन्त्र छाडिदियौ भने मैले तिमीलाई तीन वटा राम्रा कुरा सिकाउँछु । ती तीन वटा कुरा मेरो जिउको एक टुक्रा मासुभन्दा धेरै काम लाग्नेछन् ।" चरीले भनी ।
ज्यामीले बुलबुल चरीलाई छाडिदियो । बुलबुल उडेर नजिकको रुखको हाँगामा गएर बसी र भन्न थाली, "बन्धनमा परेका मानिसको कुरा नपत्याऊ । यो भयो पहिलो कुरा । आफूसँग जे छ त्यो नगुमाऊ । अनि तेस्रो कुरा हो, आफूले सँधैका लागि गुमाएको कुराको दुःख मनाउ नगर ।" यति भनेर बुलबुल चरी उडेर गई ।
४४ सिंह र मुसो
निदाएको सिंहको याल (गर्दनमाथिको रौँ ) मा चढेर एउटा फुच्चे मुसा तलमाथि गर्दै खेलिरहेको थियो । उसको खेलले सिंह जाग्यो । सिंहले मुसालाई समात्यो र त्यसलाई खान मुख बायो । कालको मुखमा पस्न लागेको मुसाले सिंहसँग बिन्ती गर्यो, "महाराज ! क्षमा पाउँ । अबदेखि यस्तो अपराध गर्ने छैन । बरु म बाँचेँ भने कुनै दिन हजुरलाई मदत गरुँला ।"
एउटा फुच्चे मुसाले सिंहलाई मदत गर्ने ! मुसाको कुरा सुनेर सिंहलाई हाँस्यो । उसले भै हल्यो भनेर त्यो मुसालाई छाडिदियो ।
केही दिनपछि सिंह सिकारीको पासोमा पर्यो । सिकारीहरूले उसलाई ज्युँदै राजाकहाँ लैजान चाहन्थे । यसैले उनीहरूले सिंहलाई पासो समेत एउटा रुखमा बाँधे र सिंहलाई बोक्नसक्ने गाडा खोज्न गए ।
त्यही बेला फुच्चे मुसाले सिंहलाई बाँधिएको देख्यो । सिंहलाई गुनको बदला तिर्ने बेला यही हो भन्ने बिचारले उसले सिंहको पासोका धागाहरू दाँतले टोक्दै चुँडाल्न थाल्यो । केही बेरमा सिंह पासोबाट मुक्त भयो । सिंहसँग बिदा हुने बेलामा मुसाले भन्यो, "मैले कुनै दिन मदत गरुँला भनेको थिएँ । गरिन त महाराज ?" यसैले भनिन्छ साथी भनेको सानै भए पनि महान हुन सक्छ ।
४५ सिंह र मूर्ति
मानिस बलियो कि सिंह बलियो भन्ने विषयमा मानिस र सिंहबीच विवाद चलिरहको थियो । मानिससँग बुद्धि पनि भएकोले ऊ सिंहभन्दा बलियो हुन्छ भनेर मानिसले तर्क गरिरहको थियो । तर सिंहले ऊ नै बलियो छु भनेर जिद्दी गरिरहेको थियो ।
"त्यसो भए मसँग आऊ मैले तिमीलाई मानिस सिंहभन्दा बलियो हुन्छ भन्ने प्रमाण दिन्छु ।" मानिसले भन्यो ।
ती दुबै एउटा बगैँचामा गए । बगैँचामा सुन्दर फूल र रुखहरूको साथै कलात्मक मूूर्तिहरू पनि सजाएर राखिएका थिए । मानिसले सिंहलाई एउटा मूर्तिको अगाडि लग्यो र मूर्ति देखाउँदै भन्यो, "नपत्याए हेर । यो मूर्तिको मानिसले कसरी सिंहलाई पछारेर उसको बंगारा च्यातेको छ हेर ।"
मूर्तिलाई हेरेपछि सिंहले भन्यो, "यो त ठिक छ । तर यसले मानिस बलियो हुन्छ भनेर कसरी साबित गर्छ । किन भने यो मूर्ति त मानिसले नै बनाएको हो । सिंहले मूर्ति बनाएको भए पक्कै पनि मानिसलाई पछारेर खाएको मूर्ति बनाउँथ्यो होला । आफू खुशी प्रमाण बनाएर त भएन नि ।"
४६ प्रेममा फँसेको सिंह
एक पल्ट एउटा सिंह एउटी राम्री तरुनीको प्रेममा फँस्यो । उसले तरुनीका आमाबाकहाँ गएर उनीहरूकी छोरी माग्यो । बिचरा बूढा बाआमा अलमल्लमा परे । बनको राजालाई हुन्न भन्न पनि भएन । तर त्यस्तो हिंसक जन्तुलाई छोरी दिन पटक्कै मन थिएन । अनि बाबु चाहिँले सिंहलाई भन्यो, "हजुरलाई ज्वाइँ बनाउन पाउनु हाम्रो ठूलो सौभाग्य हो । तर हाम्री छोरी साह्रै सानी र कोमल छे । हजुरले माया गर्दा उनको जिउमा घाउ लाग्न सक्छ । यसैले हजुरले आफ्ना तिखा नंग्रा र दांत निकाल्नु भयो भने हजुरको प्रस्तावमाथि खुशीसाथ बिचार गरौँला ।"
सिंह प्रेममा यति पागलजस्तै भएको थियो कि उसले भविष्यको बिचारै नगरी आफ्ना दाँत र नंग्रा झिक्न लगायो र बुचो भयो । अब ऊ मृग त के कुरा चरा मार्न पनि नसक्ने भयो । अनि ऊ आफ्नी प्रेमिकाको आमाबाकहाँ फेरि गयो । सिंहको बुचे अनुहार र लाचार अवस्था देखेर केटीका आमाबा हाँसे र उनीहरूले लाठोले पिटदै सिंहलाई धपाइदिए । प्रेमले जस्तै जंगली र दुष्टलाई पनि कज्याउन र तहलाउन सकिन्छ भनेको यही हो ।
४७ सिंह, फ्याउरो र पशुहरू
एक पल्ट एउटा सिंहले "म साह्रै बिरामी परको छु । मेरो अन्तिम इच्छा सुन्न र भेटन आओ" भनेर बनमा उर्दी लगायो ।
बिरामी राजालाई भेटन सबैभन्दा पहिले एउटा बोका गयो । ऊ सिंहको गुफभित्र पसेको धेरै बेरपछि एउटा भेडा गुफभित्र पस्यो । त्यसको केही बेरपछि एउटा मृग पस्यो । तर चाँडै नै सिंह निको भयो । एक दिन ऊ गुफको मुखमा आएर बाहिर हेर्यो । उसले एउटा फ्याउरोलाई देख्यो ।
"तिमी किन भित्र नआएको ? मलाई भेट्न आउनु पर्दैन ?" सिंहले फ्याउरोलाई सोध्यो ।
"क्षमा पाउँ सरकार !" फ्याउरोले भन्यो, "गुफभित्र थुप्रै जानवरहरू गएको देखेँ । तर कोही पनि फर्केको देखिन । भित्र गएका जानवरहरू नफर्केसम्म म बाहिरै बसेर सरकारको सुस्वास्थ्यको कामना गर्छु किनकि भित्र जान त सजिलो छ । बाहिर आउन गाह्रो रहेछ ।"
४८ सिंहको भाग
एक पल्ट एउटा सिंह फ्याउरो र स्याललाई संगै लिएर सिकार खेल्न गयो । धेरै बेर सिकार खोजेपछि आखिरमा उनीहरूले एउटा जरायो मारे । जरायोको मासु कसरी भाग लाउने भन्ने सवाल उठयो । सिंहले भन्यो, "जरायोलाई चार भाग लगाऊ ।"
फ्याउरो र स्यालले जरायोको छाला काढे र मासुलाई चार भागमा छुटयाए । अनि सिंह भाग लाएको मासु अगाडि उभियो र मासु कसरी भाग लाउने भन्ने निर्णय सुनाउन थाल्यो :
"म बनको राजा भएको हुनाले पहिलो भाग मेरो हुन्छ । भाग कसरी लाउने भन्ने निर्णयकर्ताको हैसियतले दोस्रो भाग पनि मैरै हुन्छ । यो सिकार मार्न मेहनत गरेको हुनाले तेस्रो भाग स्वतः मेरो भयो । बाकी रह्यो चौथो भाग । लौ यो भाग छुने कस्को हिम्मत छ अगाडि आऊ त ?"
फ्याउरो र स्याल टांगमुनि पुच्छर लुकाएर भागे । भाग्दाभाग्दै फ्याउरोले भन्यो, "ठूलाबडासँग मिलेर काम गर्दा मेहनत त खुब गर्नुपर्छ, तर भाग खाने बेलामा हिस्स परिन्छ ।"
४९ मानिस र बन
एक जना मानिस बंचरो लिएर बनमा गयो । बंचरोको बिँड थिएन । उसले रुखहरूसँग कुनै विशेषकामका लागि एउटा हाँगा माग्यो । रुखहरू उदार थिए । उनीहरूले मानिसलाई एउटा हाँगा दिए । मानिसले त्यो हाँगालाई ताछेर बंचरोको बिँड बनायो । त्यसपछि उसले धमाधम रुखहरू काट्न थाल्यो । आफ्नो शत्रुलाई आफैले औजार दिएर आफ्नो विनाश निम्त्याएकोमा रुखहरूले आफ्नो मूर्खता थाहापाए ।
५० मानिस र काठको मूर्ति
प्राचिन कालमा मानिसहरूले ढुंगा, माटो, रुख, मूर्ति आदिलाई पूजा गर्थे । तिनीहरूसँग सुखी जीवनका लागि बरदान माग्थे । एक जना मानिसले आफ्नो बाबुबाट एउटा काठको मूर्ति पाएको थियो । उसले सँधै त्यो मूर्तिको पूजा गर्थ्यो र आफ्नो जीवन सुखी बनाइ दिन प्रार्थना गर्थ्यो । तैपनि उसको जीवन सुखी हुनसकेन । उसलाई काठको मूर्ति देखेर रिस उठ्यो । एक दिन उसले त्यो मूर्तिलाई भुइँमा बजारेर फुटाल्यो । त्यस भित्रबाट थुप्रै सुनका सिक्का निस्केर भुइँभरि छरिए ।
तेस्रो भाग
५१ बाबु छोरा र गधा
एक पल्ट बाबु छोरा आफ्नो गधालाई डोर्याउँदै बजारतिर जाँदै थिए । गधालाई रित्तै हिँडालेको देखेर एक जना बटुवाले भन्यो, "गधामाथि चढ्ने पो हो । रित्तै हिडाल्ने हो - कस्ता मूर्खहरू रहेछन् !"
बटुवाको कुरा सुनेर बाबुले छोरालाई गधामाथि चढायो र आफू गधालाई डोर्याउँदै हिँड्न थाल्यो । एक छिन हिँडेपछि उनीहरूको भेट एक हुल मानिसहरूसँग भयो । ती मानिसहरूमध्ये एक जनाले भन्न थाल्यो, "हेर त कस्तो अल्छी केटा रहेछ । बाबुलाई हिँडालेर आफू गधामाथि चढिरहेको छ । कस्तो लाज सरम नभएको केटो रहेछ !"
अनि बाबुले छोरालाई ओरालेर आफू गधामाथि चढ्यो । तर धेरै पर नपुग्दै दुइटी महिलाहरू भेट भए । बाबु, छोरा र गधालाई देखेपछि एउटी महिलाले अर्कीसँग भनी, "बिचरो सानो बालकलाई हिँडालेर आफू गधामाथि चढिरहेको कस्तो अल्छी र माया नभएको मानिस होला ? लाज पनि नभएको !"
अब के गर्ने भनेर बाबु छोरा अलमल्ल परे । बाबुले छोरालाई पनि गधामाथि चढायो र दुबै जना गधामाथि चढेर बजारतिर लागे । अब बजार आउन लागेको थियो । बटुवाहरूको संख्या बढ्दै थियो । एउटा गधामाथि दर्ुइ जना मानिस चढेको देखेर एक जना बटुवाले जिस्क्याउँदै भन्न थाल्यो, "दुईदुई जना ढाडेहरू चढेर बिचरा गधालाई कुचुप्पै भारी बोकाउन लाज लाग्दैन तिमीहरूलाई ?"
यो कुरा सुनेर बाबु छोरा गधाबाट ओर्ले र अब के गर्ने होला भनेर सोच्न थाले । धेरै बेर बिचार गरेपछि उनीहरू एउटा निधोमा पुगे । उनीहरूले बाटाको छेऊमा भएको रुखको सुरिलो हाँगा काटेर ल्याए । गधालाई पल्टाएर त्यसका दुईदुई वटा खुट्टा बाँधे । बाँधेका खुट्टामुन्तिर रुखको हाँगा छिराए । अनि हाँगाको दुई छेउमा बाबु र छोराले गधालाई बोकेर बजारतिर लागे ।
बाबु छोराले गधालाई बोकेको देखेर बटुवाहरू खुबै जोरले हाँस्न थाले । त्यत्तिकैमा बजार नजिकैको साँघु आइपुग्यो । साँघुमाथि हिँडिरहेको बेलामा गधा चल्यो र छोरातिरको हाँगा उसको काँधबाट फुस्क्यो । बिचरा गधा साँघुमुन्तिर खोलामा खस्यो । चार वटै खुट्टा बाँधिएका हुनाले गधा उभिन सकेन । ऊ पानीमा डुब्यो ।
बाबु छोरा र गधाको तमासा हेर्दै पछिपछि हिँडिरहेको एक जना बूढो मानिसले भन्यो, "सबै जनालाई खुशी पार्न खोज्दा कसैलाई पनि खुशी पार्न सकिन्न भन्ने कुरा अब त बुझ्यौ होला !"
५२ दूध बेच्ने महिला र दूधको ठेकी
एउटी महिला सँधैझैँ ठेकीमा दूध बोकेर बजारतिर गइरहेकी थिइन् । दूधको ठेकी उनले टाउकोमाथि बोक्ने गर्थिन् । हिँडदाहिँडदै उनले दूध बेचेर कति पैसा आउला र त्यसबाट केके किनुँला भन्ने हिसाब गर्न थालिन् । "दूध बेचेको पैसाले कुखुराको चल्ला किन्नु पर्ला । चल्ला हुर्केपछि दिनदिनै फुल पार्ने छन् । दिनदिनै फुल बेचेर धेरै पैसा पार्ने छु । त्यो पैसाले नयाँ लुगा र गहना किन्ने छु । अनि नयाँ लुगा र गहना लाएर हाट बजार जाने छु । मसँग हाट भर्न आएका केटाहरू जिस्किन आउने छन् । उनीहरूले हलुवाइको पसलमा मिठाई खान जाउँ भन्ने छन् । मैले टाउको हल्लाएर 'नाइँ' भन्ने छु ... " यस्तो विचार गर्दै उनले साँच्चिकै टाउको हल्लाइन् ।
टाउको हल्लिएपछि उनले टाउकोमाथि बोकेको दूधको ठेकी भुइँमा खस्यो । दूध भुइँभरि पोखियो । उनी रित्तो हात घर फर्किन् । दूध कसरी पोखियो भनेर आमालाई भनिन् ।
छोरीको कुरा सुनेर आमाले भनिन्, "फुल नकोरल्दै चल्ला गन्ने कस्ती तिमी !"
५३ कंजुसको गाडेको धन
एक जना कंजुसले आफूले कमाएको सुन बगैँचाको रुखको जरामा गाडेर राखेको थियो । ऊ सातामा एकदुई पल्ट बगैँचामा जान्थ्यो । रुखको जरामा खन्थ्यो र आफूले लुकाएको सुन हेरेर मख्ख पर्थ्यो ।
एउटा चोरले यो कुरा चाल पायो । एक रात उसले त्यहाँबाट सबै सुन चोरेर लग्यो । आफूले लुकाएको सुन चोरिएको देखेपछि त्यो कंजुस डाँको छाडेर रुन र हल्ला गर्न थाल्यो ।
कंजुसको बिजोग देखेर छिमेकीहरू आए । उनीहरूले कंजुससँग सोधे, "तिमीले यो सुन के कामको लागि जम्म गरेका थियौ ? यसबाट तिमीले झिकेर कहिल्यै कुनै काम चलायौ ?"
"अ हँ । मैले यो सुन खर्च गर्नको लागि जम्म गरेका कहाँ हो र ! यहाँ आएर सुन हर्ेदा मलाई कति आनन्द आउँथ्यो । अब के हेरेर चित्त बुझाउने ?"
"त्यो सुन कुनै कामको लागि संगालेर राखेका रहेनछौ भने केको पिर मान्छौ त ? सुनको सट्टा यही सुन गाडेको खाल्टो हेरर चित्त बुझाए त भइहाल्यो नि !"
५४ धाईआमा र ब्वाँसो
"चुप लागेर सुत है । फेरि रोयौ भने मैले तिमीलाई ब्वाँसोलाई दिएर पठाउँछु ।" धाईआमाले काखको बालकलाई थुम्थुमाउँदै भनिन् ।
संयोगले एउटा ब्वाँसो त्यताबाट जाँदै थियो । उसले धाईआमाको कुरा सुन्यो । उसलाई बालक पाउने आश लाग्यो । ऊ लुसुक्क घरको छिँडीमा गएर लुक्यो र कहिले बालक रोला भनेर पर्खेर बस्यो । उसले मनमनै भन्यो, "आज मेरो भाग्य चम्केजस्तो छ । पक्कै पनि त्यो बालक रुने नै छ । अनित पेटभरि मासु खान पाइहाल्ने छु । धेरै दिन भयो मासु खान नपाएको !"
ब्वाँसोले धेरै बेर कुर्यो । निक्कै बेर पछि आखिरमा बालक फेरि रोयो । ब्वाँसो घरको छिँडीबाट निस्क्यो र धाईआमाले देख्ने गरी झयालको अगाडि उभिएर पुच्छर हल्लाउन थाल्यो ।
ब्वाँसोलाई देखेर धाईआमाले हत्तपत्त झयाल थुनिन र घरमा पालेका कुकुरहरूलाई डाकिन् । कुकुर भुकेको सुन्ने बित्तिकै ब्वाँसो पुच्छर लुकाएर भाग्यो । भाग्दाभाग्दै उसले मनमनै भन्यो, "शत्रुको बचन त तोड्नका लागि मात्रै हुने रहेछ !"
५५ बूढो मानिस र मृत्युको देवता
कडा मेहनत र उमेरले गर्दा एक दाउरे निक्कै कुप्रो परेर हिँडथ्यो । एक दिन ऊ बनमा दाउरा बटुल्दै थियो । ऊ साह्रै थाक्यो । ऊ यति निराश भयो कि उसले दाउराको भारी भुइँमा फाल्यो र मृत्युको देवतालाई पुकार्न थाल्यो, "अब म बाँच्न सक्दिन । हे मृत्यु देव, मलाई लैजाऊ ।"
संयोगले मृत्युको देवता नजिकै रहेछ । उसले दाउरेको अगाडि प्रकट भएर भन्यो, "तिमीले बोलाएकोले म आएँ । मन मलाई किन बोलायौ ?"
मृत्युको देवतालाई अगाडि देखेर दाउरेले भन्यो, "हे देव, दया गरेर यो दाउराको भारी उचाल्न मलाई मदत गर्नुहोस् ।"
आखिरमा मर्न को चाहन्छर - यसैले कहिले काहीँ इच्छा पूरा हुँदा दुःख पनि हुनसक्छ ।
५६ मजुर र पार्वती
मयुर नाच्न जानेकै थियो । उसलाई गाउन पनि मन लाग्यो । उसले पार्वतीसँग मिठो स्वरको वरदान माग्यो । तर पार्वतीले उसको कुरा मानिनन् । उसले 'म हजुरको मन पर्ने चरा हुँ यसैले मेरो स्वर मिठो बनाइदिनु होस्' भनेर जिद्दी गर्न थाल्यो । अनि पार्वतीले रिसाउँदै भनिन्, "सबै जना एकएक वटा गुणले सन्तुष्ट हुनर्ुपर्छ । कोही पनि सबै कुरामा पहिला हुनसक्तैन ।"
५७ गोठालो केटो
एउटा गोठालो केटो थियो । उसले आफ्ना भेँडाहरू जंगलको नजिकै पहाडको फेदीमा चराउँथ्यो । दिनभरि ऊ प्रायः एक्लै हुन्थ्यो । यसैले उसले अलि रमाइलो गर्ने र साथी बटुल्ने योजना बनायो । उसले गाउँतिर फर्केर ठूलो स्वरले "ब्वाँसो आयो, .... ब्वाँसो आयो ..." भनेर चिच्याउन थाल्यो ।
गोठालो कराएको सुनेर उसका भेँडालाई ब्वाँसोबाट जोगाउनका लागि गाउँले हरू हस्याङफस्याङ गर्दै आए । एक छिन ब्वाँसोलाई खोजेर नभेट्टाएपछि उनीहरू फर्केर गए । यसो गर्दा गोठालो केटोलाई रमाइलो लाग्यो ।
गोठालो केटोले केही दिनपछि फेरि त्यही खेल खेल्यो । उसले फेरि गाउँतिर फर्केर "ब्वाँसो आयो, .... ब्वाँसो आयो ..." भनेर चिच्यायो । यस पटक पनि गाउँलेहरूले ब्वाँसो देखेनन् । गोठालो केटो हाँसेर रमाएको उनीहरूले देखे ।
केही दिनपछि साँच्चिकै ब्वाँसो आयो र भेँडाहरूलाई मार्न थाल्यो । गोठालो केटोले न्वारानदेखिको बल निकालेर "ब्वाँसो आयो, .... ब्वाँसो आयो ..." भनेर चिच्यायो । तर उसलाई मदत गर्न कोही पनि आएन । यस पल्ट पनि केटोले ढाँटेको होला भनेर गाउँलेहरूले ठाने । ब्वाँसोले पेट भर्न चाहिने भन्दा धेरै भेँडा मार्यो ।
भरे गोठालो केटोले गाउँलेहरूसँग आफ्नो दुखेसो पोख्दा एक जना पाका गाउँलेले भने, "ढँटुवाले साँचो बोले पनि कसैले पत्याउन्न बुझयौ ?"
५८ गौँथली र चराहरू
एक जना किसानले खेतमा गाँजोको बिऊ रोप्दै थियो । खेतमा एउटा गौँथली र अरु केही चराहर खेल्दै चारो टिपिरहेका थिए । गौँथलीले किसानतिर देखाउँदै भन्यो, "त्यो मानिससँग होसियार होऊ है ।"
"किन ? के गर्छ र उसले ?" चराहरूले सोधे ।
"उसले गाँजाको बिऊ रोप्दैछ । उसले रोपेका सबै बिउ टिप, नत्र पछुताउनु पर्ला ।" गौँथलीले भनी । तर उसको कुरामा कसैले ध्यान दिएनन् ।
केही समयपछि गाँजाको बोट छिप्पियो । किसानले गाँजाको बोटबाट धागो बनायो । धागोबाट उसले जाल बुन्यो । अनि उसले खेतमा जाल थाप्यो । जालमा धेरै चराहरू परे । त्यसमा ती चराहरू पनि जसले गौँथलीको कुरामा ध्यान दिएका थिएनन् ।
यो देखेर गौँथलीले भनी, "मैले त भनेकै थिएँ नि । विनाशको बोट बिउमै मार्नु पर्छ । त्यो बिउ उम्रेपछि सबैलाई सखाप पार्छ ।"
५९ कछुवा र चराहरू
एउटा कछुवाले बसाइ सर्ने बिचार गर्यो । उसलाई हिँडेर अर्को पोखरीमा जान अल्छी लाग्यो । उसलाई बोकेर अर्को पोखरीमा पुर्याइदिन उसले एउटा चिललाई अनुरोध गर्यो । यसबापत उसले चिललाई थुप्रै इनाम दिने वचन दियो ।
चिलले उसको कुरा मंजुर गर्यो । उसले कछुवालाई आफ्ना पंजाले अंठ्यायो र आकाशमा निक्कै माथि उड्यो । बाटोमा एउटा कौवा भेट भयो । कौवाले चिलसँग भन्यो, "कछुवाको मासु साह्रै स्वदिलो हुन्छ, तिमीलाई थाहा छ ?"
"तर त्यसको खबटा निक्कै साह्रो हुन्छ । फुटाल्नै सकिन्न ।" चिलले कौवालाई जवाफ दियो ।
"खबटा त ढुंगामा ठोक्कियो भने फुटिहल्छ नि ।" कौवाले भन्यो ।
चिलले कौवाको संकेत बुझ्यो । उसले कछुवालाई धारिलो र साह्रो ढुंगामाथि खसाल्यो । अनि चिल र कौवा मिलेर पेटपरि कछुवाको मासु खाए ।
यसैले भनिन्छ शत्रुको आड लिएर माथि उड्नु हुँदैन ।
६० सहरिया मुसा र गाउँले मुसा
एउटा मुसा सहरमा बस्थ्यो । उसको साथी गाउँमा बस्थ्यो । एक पल्ट सहरमा बस्ने मुसा गाउँको मुसाकहाँ गयो । गाउँको मुसाले सहरको साथीलाई निक्कै माया गर्यो । उसले साथीलाई खुशी पार्न सबै प्रयास गर्यो । उसले साथीलाई गाउँमा पाइने सिद्रा, कुराउनी, भटमास, मकै, गहुँ, चामल, कोदोको रोटी आदि विभिन्न परिकार ख्वायो । तर सहरको मुसालाई यस्ता खाने कुरा चित्त बुझेन । उसले भन्यो, "मिज्जु, यस्तो खाने कुरा खाएर कसरी बाँच्छै तिमी ? तर गाउँमा योभन्दा मिठो कुरा के पो पाइन्छ होला र ! सहरमा जाउँ । अनि बाच्नका लागि कस्ता कुरा खानुपर्छ भनेर हेरौला । सहरमा एक साता बस्यौ भने बल्ल तिमीले बुझने छौ । अनि यस्तो गाउँमा कसरी बाँचेँ हुँला भनेर आफै छक्क पर्ने छौ ।"
उसको कुरा सुनेर गाउँको मुसा साथीसँगै सहरमा गयो । साँझ अबेला उनीहरू सहरिया मुसाको डेरामा पुगे । डेरामा पुगेपछि सहरिया मुसाले साथीलाई "धेरै हिँडेकोले भोक लागेको होला" भन्दै खाना खाने कोठामा लग्यो ।
त्यो घरमा मानिसहरूले भर्खरै भोज खाएर सिध्याएका रहेछन् । टेबुलभरि थाल र प्लेटमा मिठामिठा खानेकुरा बाकी थिए । ती दुई साथीले ती बाकी रहेका जाम, जेली, केक, फलफूल, चीज, रोटी, मख्खन आदि मिठामिठा कुराहरू फटाफट खान थाले । त्यसै बेला अचानक उनीहरूले कोठाबाहिर कोही भुकेको र कराएको सुने । गाउँको मुसा डरायो । उसले साध्यो, "के को स्वर हो यो ?"
"केही होइन । घरमा पालेका कुकुरहरू कराएको हो ।" सहरिया मुसाले जवाफ दियो ।
"कुकुर कराएको रे ! मलाई त यो स्वर कत्ति पनि मन परेन ।" गाउँको मुसाले भन्यो । यति भन्दाभन्दै भान्सा कोठाको ढोका खुल्यो र दुइटा डरलाग्दा कुकुरहरू भित्र पसे । तिनीहरूलाई देख्ने बित्तिकै मुसाहरूको सातोपुत्लो उड्यो । उनीहरू टेबुलबाट उफ्रेर भित्ताको प्वालमा पसे र ज्यान जोगाए ।
त्यसपछि गाउँको मुसाले सहरको मुसासँग विदा माग्यो ।
"यति चाँडै जार्ने ? केही दिन बस्दैनौ ?" सहरको मुसाले भन्यो ।
"जानु नै बेस लाग्यो । ज्यानको बाजी राखेर केक र चिज खानुभन्दा सुखसँग सद्रा र मकै खानु बेस ।"
एउटा अग्लो रुखको फेँद वरपर घाँसहरू उम्रेका थिए । एक पल्ट रुखले घाँसलाई हेपेर भन्यो, "किन तिमीले पनि भुइँमा भित्रसम्म जारा गाडदैनौ ? किन मजस्तै अग्लो भएर छाती फर्काएर आकाशलाई हेर्दैनौ ?"
"मे मेरै भाग्यमा खुशी छु । म त्यति ठूलो नभए पनि सुरक्षित र सुखी नै छु ।" घाँसले जवाफ दियो ।
"सुरक्षित छु रे !" घाँसको कुरा सुनेर रुख हाँस्यो । उसले भन्यो, "मलाई कसले उखेल्न सक्छ ? कसले मेरा होगा नुगाएर भुइँमा छुवाउन सक्छ ? कोही छ ?"
तर धेरै दिन नबित्दै ठूलो हुरी चल्यो । हुरीमा त्यो रुख जरैबाट उखेलियो र भुइँमा पल्ट्यो । त्यसको वरिपरि उम्रेका घाँसहरू भने हुरी चलेको बेलामा नुगेर भुँइमा लम्पसार परे अनि हुरी थामिएपछि पहिले जस्तो सिधा उभिएर नाच्न थाले । यसैले भनिन्छः अन्जान, अपरिचित र सानो भएर बस्दा प्रायः सुरक्षित भइन्छ ।
६२ बिगुलेको गिरफ्तारी
लडाइँमा बिगुल बजाएर सिपाहीहरूलाई हौस्याउने एउटा बिगुले हिम्मत गरेर लडाइको मैदानमा अगाडिपट्ट गयो । शत्रुको सेनाले उसलाई गिरफ्तार गर्यो र उसलाई मार्ने निधो गर्यो । बिगुलेले जीवन दान माग्दै बिन्ती गर्यो । उसले भन्यो, "म सिपाही होइन । म लडाइ लडदिन । मसँग हतियार पनि छैन । मेरो काम त बिगुल बजाउने मात्रै हो । किगुल बजाएर तपाईँहरूको केही नोक्सान पनि हुँदैन । यसैले मलाई नमार्नुहोस् ।"
"हो, तिमी आफै लड्दैनौ । तर तिमीले अरुलाई लड्न जोस्याउँछौ र उनीहरूलाई बाटो पनि देखाउँछौ । हतियारले लडनेभन्दा तिमी खतरनाक छौ ।" शत्रुहरूले भने ।
६३ दुइटा गँगटा
घमाइलो दिन थियो । दुइटा गँगटा दुलोबाट निस्के र बालुवामाथि हिँडनडुल्न थाले । बच्चो गँगटो छडके हिँडेको देखेर आमा चाहिँले छोरालाई भनी, "हेर छोरा, तेरो हिँडाइ मिलेन । यस्तो नराम्रो चालले हिँडनु हुँदैन । सोझो हिँडनु पर्छ । बाँगोटिँगो हिँडदा अरुले के भन्लान ?"
"हुन्छ आमा, तपाइँले भन्नु भएजस्तै गरी म हिँडछु । मलाई सिकाइ दिनुस् न । कसरी हिँडनु पर्छ आफै हिँडेर देखाइदिनुस न आमा !" सानो गँगटोले भन्यो । मुखले सिकाउनुभन्दा गरेर देखाउनु बेस हो ।
६४ दुई जना साथी र भालु
दुई जना साथीहरू जंगलको बाटो यात्रा गरिरहका थिए । उनीहरूमाथि एउटा भालुले आक्रमण गर्यो । भालुबाट जोगिन एक जना साथी रुखमाथि चढ्यो । उसले आफ्नो साथीलाई जोगाउने प्रयास गरेन ।
अर्को साथी भुइँमा पल्टेर घोप्टो पर्यो र सास रोकेर लासजस्तो भएर पल्टिरहृयो । भालु आएर उसको टाउको र कानको वरिपरि सुँघ्यो । उसले त्यसलाई लास ठानेर केही नगरी आफ्नो बाटो लाग्यो । किन भने भालुले मरेको मानिसलाई केही पनि गर्दैन भन्ने विश्वास गरिन्छ ।
भालु गइसेकेपछि रुखमा चढेको साथी तल ओर्ल्यो र सरासर भुइँमा पल्टेको साथीकहाँ गयो । उसले साथीसँग सोध्यो, "भालुले तिम्रो कानमा सुटुक्क के कुरा भन्यो हँ ?"
साथीले जवाफ दियो, "भालुले मलाई आपत परेको बेलामा भाग्ने साथीको विश्वास नगर्नु भन्यो ।"
६५ दुइटा भाँडा
नदीको किनारैमा दुइटा भाँडा छाडिएका थिए । एउटा भाँडा पित्तलको थियो भने अर्को माटाको । केही बेरपछि नदीमा छाल आयो र दुइटै भाँडा पानीमा तैरिन थाले । पानीमा तैरिँदातैरिँदै ती भाँडाहरू एकअर्काको नजिक आउन थाले । तर माटोको भाँडो पित्तलको भाँडोभन्दा परपर बस्न दोज्यो । माटाको भाँडो आफूदेखि पर जान खोजेको देखेर पित्तलको भाँडोले भन्यो, "मिज्जु, मसँग डराउनु पदैन । मैले तिमीलाई केही गर्दिन ।"
उसको कुरा सुनेर माटोको भाँडोले भन्यो, "तर म तिम्रो नजिक हुन सक्छु । हामी धेरै नजिक भयौँ भने मैले ठोके पनि तिमीले ठोके पनि नोक्सान त मेरै हुन्छ । बलियो र कमजोर साथी हुन गाह्रो छ ।"
६६ बतास र घाम
बतास र घामबीच को बलियो भन्ने कुरामा हानथाप भयो । अचानक उनीहरूले एक जना बटुवालाई देखे । घामले भन्यो, "हामीमध्ये को ठूलो भन्ने कुरा निधो गर्ने एउटा उपाय गरौँ । जसले त्यो बटुवालाई उसले लाएको कोट फुकाल्न लगाउन सक्छ उसैलाई बलियो मानौँ । लौ पहिले तिम्रो पालो ।"
त्यसपछि घाम बादलभित्र लुक्यो । अनि बतास सकेसम्म जोरले चल्न थाल्यो । बतास जति जोडले चल्थ्यो बटुवाले आफ्नो कोट सकेसम्म च्याप्थ्यो । जत्ति कोसिस गरे पनि बतासले बटुवाको कोट फुकाल्न सकेन । हैरान भएर बतासले हार मान्यो ।
त्यसपछि घामको पालो आयो । घाम सकेसम्म न्यानो भएर चम्कन थाल्यो । न्यानो भएपछि बटुवालाई गर्मी भयो र उसले कोट फुकाल्यो । यसैले भनिन्छ जबर्जस्ती गरेर भन्दा मायाले मानिसलाई हात लिन सकिन्छ ।
६७ ब्वाँसो र सारस
एक पल्ट एउटा ब्वाँसोले आफूले मारेको जानवरको मासु आत्तिँदै खाइरहेको थियो । अचानक उसको घाँटीमा हाड अड्क्यो । उसले केही पनि खान र निल्न सकेन । घाँटी दुखेर ऊ रुन कराउन थाल्यो । यताउता दगुर्दै कसरी दुखेको निको हुने उपाय खोज्न थाल्यो । उसले बाटोमा भेटिएका सबैलाई घाँटीको हाड निकालि दिन आग्रह गर्न थाल्यो । "मेरो घाँटीको हाड जसले निकालिदिन्छ उसलाई जे माग्यो त्यही दिन्छु " भन्न थाल्यो ।
आखिरमा एउटा सारस उसको घाँटीको हाड निकाल्न राजी भयो । उसले ब्वाँसोलाई उत्तानो परेर पल्टन र मुख सकेसम्म धेरै बाउन लगायो । अनि सारलेले आफ्नो तीखो ठोँड उसको घाँटीमा घुसारेर घाँटीमा अडकेको हाड झिकिदियो ।
त्यसपछि सारसले ब्वाँसोसँग उसले बचन दिएअनुसार इनाम माग्यो । सारसको माग सुनेर ब्वाँसोले दाँत किट्दै भन्यो, "ब्वाँसोको मुखभित्र घुसारेका तिम्रो टाउको सुरक्षित रूपमा बाहिर निकाल्न पायौ । यो नै ठूलो इनाम हो । यसैमा तिमीले सन्तोष गर ।"
लोभ र कृतज्ञता एकै जनामा हुन गाह्रै छ ।
६८ ब्वाँसो र भेँडाको पाठो
एक पल्ट एउटा ब्वाँसोले पहाडको छेऊमा बगेको खहरेको पानी खान लागेको थियो । उसले खहरेको तलतिर भेँडाको एउटा पाठोले पानी खान लागेको देख्यो ।
"आहा ! बल्ल मासु खान पाउने भएँ । कुनै बहानाले त्यसलाई मार्न पाए त बेस हुन्थ्यो ।" यस्तो बिचार गरेर उसले भेँडाको पाठोलाई आफूछेऊ बोलायो । पाठो नजिक आएपछि उसले पाठोलाई हकार्यो, "मैले खाने पानी किन तैँले फोहोर पार्छस् हँ ?"
"हजुरले खहरेको माथितिर बसेर पानी खानु हुन्छ । म त खहरेको तलतिर बसेर पानी खान्छु । हजुरले खाने पानी मैले गर्दा कसरी फोहोर हुन्छ र ?" पाठोले बडो विनम्र भएर भन्यो ।
"त्यसो भए ठिकै छ । तर पोहोर मलाई गाली गर्ने बदमास तँ नै होइनस् ?" ब्वाँसोले अर्को निहुँ खोज्यो ।
"म जन्मेको बल्ल छ महिना भयो । कसरी मैले पोहोर हजुरलाई गाली गर्न सक्छु र ?" पाठोले जवाफ दियो ।
"तँ कहिले जन्मिस् भन्ने मलाई के मतलब ! तैँले गाली नगरेको भए तेरा बाउले गाली गरेको होला ।" यति भन्दै ब्वाँसो पाठोमाथि झम्ट्यो र बिचरा पाठोलाई टुक्राटुक्रा पारेर खायो ।
मर्ने बेलामा पाठोले भन्यो, "दुष्टलाई केही बहाना चाहिँदैन ।"
६९ भेँडाको छाला ओढ्ने ब्वाँसो
गोठाला र उसका कुकुरहरूको होशियारीले गर्दा भेँडाको बथान नजिक भएर पनि ब्वाँसोले एउटा भेँडा पनि खान पाएको थिएन । एक दिन ब्वाँसोले भेँडाको सुकाउन राखेको छाला भेट्टायो । उसले आफ्नो वरिपरि भेँडाको छाला बेर्यो र भेँडाको बथानभित्र पस्यो । जुन भेँडाको छाला उसले ओढेको थियो त्यसको पाठोले उसलाई आमा ठानेर पछ्यायो । अनि ब्वाँसोले त्यस पाठोलाई जंगलको छेउमा लगेर खायो । यसरी त्यो ब्वाँसोले अरु पनि भेँडाका पाठालाई झुक्याउँदै खाएर पेट भर्यो । यसरी देखेको कुराले झुक्याउँछ भनेको साँच्चै रहेछ ।
७० दाउरे र र्सप
जाडोको दिन थियो । हिउँ परिरहको थियो । एक जना दाउरे बनबाट दाउराको भारी लिएर र्फकँदा बाटोमा जाडोले कक्रिएर पल्टेको र्सप देख्यो । त्यो र्सप मरेजस्तो थियो । उसले सर्पलाई बचाउन सकिन्छ कि भनेर उचालेर छातीमा राख्यो र घरतिर लाग्यो ।
घरमा लगेर उसले सर्पलाई अगेनाको नजिकै राख्यो । दाउरेका छोराछोरीहरूले आगो ताप्दै सर्पलाई हेरिरहेका थिए । अगेनाको तातो पाएर सर्प बिस्तारै होसमा आयो । ऊ चल्मलाउन थाल्यो । सर्प बाँचेको देखेर एउटा केटोले उसलाई जिस्क्याउन खोज्यो । तर सर्पले अचानक टाउको उचालेर केटोलाई टोक्न खोज्यो । त्यो देखेर दाउरेले बँचारोले सर्पलाई दई टुक्रा पारिदियो । उसले भन्यो, "दुष्टको भलो गर्दा झन आपत आइलाग्ने रहेछ ।"
७१ चोर र उसकी आमा
एउटा भर्खरको ठिटो चोरीको अपराधमा पक्रियो । उसलाई मृत्यु दण्ड दिनभन्दा पहिले उसले आफ्नी आमासँग भेटने इच्छा व्यक्त गर्यो । उसको इच्छा पूरा गर्ने व्यवस्था गरियो ।
उसकी आमा आएपछि उसले भन्यो, "मैले तपाइँको कानमा केही कुरा भन्न चाहन्छु ।"
छोराको कुरा सुन्न आमाले आफ्नो कान छोराको मुखैनेर लगिन् । छोराले आमाको कान यति साह्रै टोक्यो कि उसको कान झण्डै चुँडिएन ! पीडाले आमा बेस्सरी चिच्याइन् ।
"के गरेका यस्तो ?" वरिपरिका मानिसहरू अचम्म मान्दै कराए । "जन्म दिने आफ्नी आमालाई पनि कसैले यस्तो जंगली व्यवहार गर्छ ?"
छोराले भन्यो, "उनलाई सजाय दिन मैले यसो गरेको हुँ । म सानो छँदा मैले सानातिना कुरा चोरेर घरमा ल्याउँदा आमाले स्याबासी दिन्थिन् । बरु दंग पर्दै भन्थिन्, 'यस्तो सानो कुराको कसले वास्ता गर्छ र !' उनले यसो नभनेको भए, अनि मलाई चोर्न प्रेरित नगरेको भए म चोर बन्ने थिइन । न त यो सजाय नै पाउने थिएँ ।"
उसको कुरा सुनेर एक जना पाको मानिसले भन्यो, "केटाकेटीलाई राम्रो बानी सानैमा सिकाउनु पर्छ । ठूलो भएपछि बानी फेरिन्न ।"
७२ बनकौवा र रजहाँस
एक पल्ट एउटा कालो चिल्लो जिउ तर धोद्रो स्वर भएको बनकौवालाई रजहाँस जस्तै सेतो र सुन्दर हुन मन लाग्यो । उसले रजहाँसहरू दिनभरि पानभित्र खेलेको र पानीमा ठोँडले प्वाँख रगड्ने गरेको बनकौवाले हेरिरहन्थ्यो । सेतो र सुन्दर हुनका लागि पानीमा खुब नुहाउनु पर्छ भन्ने उसलाई लाग्यो ।
बनकौवाले बनमा भएको आफ्नो घर त्याग्यो र रजहाँस बस्ने पोखरीमा बसाइ सर्यो । अनि उसले दिनभरि पानीमा आफ्नो प्वाँख धुन थाल्यो । खानपिन पनि छाडेर सुन्दर हुने काममा ऊ रातदिन लागिरह्यो । तै पनि उसको जिउको रंग फेरिएन । बरु धेरै दिनसम्म भोकै बस्नाले र दिनरात पानीमा भिज्नाले ऊ बिरामी भयो र केही दिनपछि मर्यो ।
गाँस, बास फेर्दैमा प्रकृतिले दिएको गुण र स्वभाव कसरी फेरिन्थ्यो र !
७३ कमिला र फटेंग्रा
कमिलाहरूले जाडोको याम बडो आरामसाथ बिताइरहका थिए । उनीहरूसँग गर्मी याममका बटुलेको खानेकुरा पर्याप्त मात्रामा थियो । दिउँसो उनीहरू अन्न सुकाउँथे । तर फटेंग्रासँग खाने कुरा कत्ति पनि थिएन । ऊ भोकले मर्नै आँटेको थियो । कमिलाहरूले आगनमा अन्न सुकाएको देखेर उसले अलिकति अन्न पैँचो माग्यो । कमिलाहरूले फटेँग्रासँग सोधे, "गर्मी याममा तिमीले किन खानेकुरा बटुलेर नराखेको ?"
"गर्मी याममा मलाई फुर्सत नै भएन । दिनभरि गाउनमै समय बित्यो ।" फटेंग्राले जवाफ दियो ।
"गर्मी याम गाएर बितायौ भने जाडो याम नाचेर बिताऊ । किन माग्दै हिँडनु पर्यो ?" भन्दै कमिलाहरूले फटेंग्रालाई धपाइ दिए ।
७४ गधा र ब्वाँसो
एउटा गधा बनको नजिकै चरिरहेको थियो । उसले अचानक एउटा ब्वाँसो ऊतिर आइरहेको देख्यो । ब्वाँसो नजिक आएको देखेर उसले खुट्टा खोच्याए बहाना गर्यो । गधा खेच्याउँदै हिँडेको देखर ब्वाँसोले सोध्यो उसलाई खोच्याउनुको कारण सोध्यो । काँढे झाडीमा घाँस खान जाँदा खुट्टाका काँढा गडेकोले खोच्याएको भनेर गधाले जवाफ दियो ।
गधाले ब्वाँसोसँग खुट्टामा गडेको काँढा झिकिदिन अनुरोध गर्दै भन्यो, "तिमीले मलाई मारेर खायौ भने तिम्रो मुखमा पनि मेरो काँढाले बिझाउन सक्छ । यसैले पहिले नै काँढा झिकिदियौ भने दुबैलाई बेस हुन्छ ।"
ब्वाँसोलाई गधाको कुरा उचित लाग्यो । ऊ गधाको पछडि गयो । गधालाई खुट्टा उचालेर काँढा गडेको ठाउँ देखाउन भन्यो । गधाले पछाडिको खुट्टा उचाल्यो । ब्वाँसोले बडो ध्यान दिएर काँढा खोज्न थाल्यो । त्यही मौका पारेर गधाले ब्वाँसोलाई जोडले लात्तीले हिर्कायो । बिचरा ब्वाँसोको बंगारा भाँच्चियो । बनतिर भाग्दै उसले मनमनै भन्यो, "पुर्खाले गरेको सिकार खेल्ने काम छाडेर वैद्यको काम गर्न खोज्दा मेरो यो दुर्गति हुनु स्वाभाविकै हो ।"
७५ मूर्ति बोकेको गधा
मूर्तिकारले बनाएको देवताको मूर्ति मन्दिरमा स्थापना गर्न लगिँदै थियो । मूर्ति गधाको पिठ्युँमाथि राखिएको थियो । गधा बजारको बीचबाट जाँदै थियो । मानिसहरूले मूर्तिलाई देखेर नमस्कार गर्दै टाउको झुकाएर सम्मान गरिरहेका थिए । तर गधालाई मानिसहरूले आफूलाई नै सम्मान गरेजस्तो लाग्यो । ऊ घमण्डले यति मात्तियो कि उसलाई भारी बोकेर हिँडनै मन लागेन । ऊ बाटोमै टक्क अडियो । गधाको मालिकले हप्काएर उसलाई हिँडाल्न खोज्यो । तर ऊ डेग चलेन । अनित मालिकले कोर्रा निकालेर गधालाई पिट्दै भन्यो, "मूर्ख गधा ! मानिसले गधाको पूजा गर्दैन भन्ने कुरा पनि तँलाई थाहा छैन । अरुले पाएको सम्मान पनि आफैले पाएको ठान्ने कस्तो बुद्धु रैछस् तँ !"
७६ सिंहको छाला ओढेको गधा
एउटा गधाले कतै बाट सिंहको छाला भेट्टाएको थियो । उसले त्यो छाला ओढेर बनका सोझासिधा जानवरहरूलाई तर्साउँथ्यो । एक दिन उसको भेट फ्याउरो सँग भयो । उसले त्यसलाई पनि तर्साउन खोज्यो । तर गधाको स्वर सुन्ने बित्तिकै फ्याउरोले भन्यो, "तैँले नकराइकन मलाई तर्साउन खोजेका भए सायद म डराउने थिएँ ।"
७७ शरीर र अंगहरूबीच झगडा
एक पल्ट मानिसको शरीरको पेट र अरु अंगबीच विवाद पर्यो । हात, गोडा, आँखा, कान, नाक आदि अंगहरूले भने, "काम गर्ने हामी यो पेट भने दिनभरि बसीबसी खान्छ । मिठोमिठो कुरा सबै यसैको थैलोमा जान्छ । यो त साह्रै अन्याय भयो । यो स्वार्थी पेटलाई खुशी पार्न हामी मरिमेटी काम गर्न सक्तैनौँ ।"
यति भनेर शरीरका अंगहरूले हडताल गरे । अंगहरूले काम नगरेपछि पेटले खान पाएन । पहिले त पेट दुःखी भयो । तर पेटमा अन्न नपरेपछि अंगहरू र पूरै शरीर गल्यो । उनीहरू यति कमजोर भए कि कुनैले पनि काम गर्नसकेनन् । उनीहरूलाई आफ्नो मूर्खताप्रति पछुताउनु पर्यो ।
७८ गँगाटो र फ्याउरो
एउटा गँगटोलाई खोलाभित्र दुलोमा बस्न मन लागेन । ऊ चौरमा बसाइ सर्यो । चौरमै किराफटेँग्रा खोजेर बस्न थाल्यो । एउटा भोकाएको फ्याउरो सिकार खोज्दै चौरमा आयो । उसले गँगटोलाई सजिलैसँग देख्यो । भोकाएको हुनाले उसले गँगटोलाई कर्याप्पै टोक्यो र खान थाल्यो । मर्ने बेलामा गँगटोले आफैलाई भन्यो, "मेरो यो दुर्गति हुनु स्वाभाविकै हो । पानीभित्रको आफ्नो स्वाभाविक बास छाडेर बिरानो ठाउँमा आउँदा यस्तै हुन्छ । आफ्नो भाग्यप्रति सन्तुष्ट हुनसके मात्रै सुखी भइने रहेछ ।"
७९ नाच्ने बाँदरहरू
एक जना राजकुमारले केही बाँदरहरूलाई नाच्न सिकाउने बिचार गर्यो । मानिसको नक्कल गर्न सिपालु भएका हुनाले उनीहरूले चाँडै नै मानिसले जस्तै नाच्न सिके । राम्रा लुगा र मुकुण्डो लगाइदिँदा त उनीहरू राजाको दरबारका अरु नर्तकहरू जस्तै नाच्ने भए । दरबारमा बाँदरहरूको नाच बारंबार देखाउन थालियो ।
एक पल्ट दरबारमा बाँदरहरूको नाच भइरहेको बेलामा एक जना दरबारियालाई एउटा उटुँग्याइँ गर्न मन लाग्यो । उसले गोजीबाट एक मुठी भुटेको चना झिक्यो र नाचिरहेका बाँदरहरूको अगाडि चना छरिदियो । बाँदरहरूले चना देखेपछि नाच्न बिर्से । उनीहरूले दामी लुगा र मुकुण्डोको वास्तै नगरी भुइँको चना टिपेर खान थाले । चना टिप्ने मेसोमा उनीहरूबीच लुछाचुडी भयो । तिनले लाएका गहना र मुकुण्डोको बिजोग भयो । यसरी बाँदरको नाच दर्शकहरूको हाँसोमा टुंगियो ।
८० कुकुर, भाले र फ्याउरो
कुकुर र भाले मित लाएका थिए । एक पल्ट उनीहरू घुम्न निस्के । साँझ उनीहरू एउटा रुखमा बास बसे । भाले रुखको हाँगामा बस्यो भने कुकुर रुखको फेँदमा बनेको टोडकोमा बस्यो ।
बिहान झिसमिसे भएपछि आफ्नो बानी अनुसार भाले बास्यो । ऊ ठूलो स्वरले धेरै पटक करायो । संयोगले एउटा फ्याउरोले भाले बासेको सुन्यो । उसले आज बिहानै मिठो खाजा खान पाइने भयो भन्ने विचार गर्दै भाले बसेको रुखनेर गयो । उसले भालेलाई भन्यो, "यस्तो मिठो स्वर भएको चरासँग सँगत गर्न पाए कस्तो बेस हुन्थ्यो ।"
तर भालेलाई उसको कुरामाथि शंक लाग्यो । उसले भन्यो, "तपाईँलाई स्वागत छ । तर एउटा काम गर्नु हुन्छ कि ? रुखको फेँदमा टोडकोमा मेरो भरिया सुतेको छ । उसलाई उठाउनु भयो भने उसले ढोका खेल्ने छ अनि तपाइँ माथि मकहाँ आउनु होला ।"
फ्याउरोले त्यसै गर्यो । ऊ रुखको टोडमा पुग्ने बित्तिकै कुकुर जाग्यो । कुकुरले फ्याउरोलाई च्याप्प समातेर टुक्राटुक्रा पारिदियो ।
८१ बाज, बिरालो र बँदेल
एउटा बाजले रुखको टुप्पामा गुँड बनाएको थियो । रुखको माझमा एउटा ठूलो टोडकोमा बिरालो बास बसेको थियो । रुखको जरामा खाल्टो खनेर बंदेल र उसका पाठाहरू बसेका थिए । उनीहरू सुखसँग बसिरहेका थिए । तर बिरालोको मनमा उटुँग्याइँ गर्ने बिचार आयो ।
बिरालो रुखको टुप्पामा गयो र बाजलाई भन्यो, "तिम्रो र मेरो पनि विनाश नजिक आउँदै छ । तल बसेको बँदेलले दिनदिनै रुखको जरा खनिरहेको तिमीले देखेकै छौ । उसले हामी बसेको यो रुखलाई ढाल्न खोज्दैछ । रुख ढलेपछि उसले तिमी र तिम्रा बालबच्चाहरू अनि मलाई पनि खाने दाउ गर्दैछ ।
यस्तो तर्साउने कुरा सुनेर बाज रिसायो र चिन्तित पनि भयो ।
त्यसपछि बिरालो रुखको फेँदमा गयो र बँदेललाई भन्यो, "तिम्रा बालबच्चहरू खतरामा छन् । तिमी खानेकुरा खोज्न बाहिर गएको बेलामा यो रुखको टुप्पामा बसेको बाज तिम्रा बच्चामाथि जाइलाग्छ ।
यसरी बाज र बिरालोको बीचमा बैमनस्य फैलाएर बिरालो आफ्नो टोँडकोभित्र लुकेर बस्यो । रात परेपछि ऊ खानेकुरा खोज्न बाहिर जान्थ्यो । तर दिउँसो डराएको बहाना गरेर लुकेर बस्थ्यो ।
उता बाज बंदेलले रुख ढालेर चल्ला मार्ला भन्ने डरले दिनभरि गुँड नछाडी बस्थ्यो । अर्कोतिर बँदेल पनि बाजको डरले कतै जान छाड्यो । यसरी बाज र बँदेलको परिवार एकअर्कोको डरले खाना खोज्न पनि नगई बस्न थाल्यो । यसरी धेरै दिन भोकै बस्दा दुबै परिवारको अन्त्य भयो । बिरालोलाई भने भोज भयो ।
८२ किसान र उसका छोराहरू
एक जना किसान निक्कै बूढो भइसकेको थियो । आफू मरेपछि छोराहरूले मेहनत गरेर खेतीपाती गर्लान् कि नगर्लान् भन्ने उसलाई चिन्ता थियो । बिरामी परेर अब मर्ने भएँ भन्ने भएपछि उसले सबै जना छोराहरूलाई डाक्यो र भन्यो, "हेर छोराहरू, मेरो बारीमा मैले धेरै पैसा गाडेर लुकाएको छु ।"
बाबु मरेपछि छोराहरूले खन्ने औजार लिए र बारीको कुनाकाप्चा सबैतिर खनेर गाडेको धन खोजे । बारी सबै खन्दा पनि धन भेट्टिएन । तर एउटा फाइदा के भयो भने । गहिरोसँग बारी खनेकोले बारी निक्कै मलिलो भयो र त्यो सालको बाली निक्कै सप्रेर उनीहरूले धेरै अन्न भित्र्याए ।
८३ किसान र फ्याउरो
एउटा फ्याउरोले किसानको कुखुरा चोरेर हैरान पारेको थियो । एक पल्ट त्यो फ्याउरो किरानले थापेको पासोमा पर्यो । फ्याउरोसँग बदला लिने उद्देश्यले किसानले फ्याउरोको जिउ वरिपरि तेलले भिजेको डोरी बेर्यो अनि डोरीमा आगो लगाएर उसलाई छाडिदियो ।
आगोले पोलेर आत्तिएको फ्योउरो किसानको खेतमा पस्यो । खेतमा पाकेको पहेँलो धान परालसँगै सुकाएर भित्र्याउन ठिक्क पारिएको थियो । फ्याउरोको जिउमा लागेको आगो खेतको परालमा पनि सल्क्यो । बिचरा किसानले त्यो साल एक गेडा धान पनि स्याहार्न पाएन ।
८४ दुइटी छोरीको बाबु
एक जना मानिसका दुइटी छोरी थिए । जेठी छोरीको बिहे बगैँचे/मालीसँग भयो भने कान्छी छोरीको बिहे माटाका भाँडा बनाउने कुमालसँग भयो ।
बिहे भएको केही दिनपछि छोरीहरूको सँचोबिसँचो बुझ्न बाबु छोरीहरूको घरमा गयो । पहिले ऊ जेठी छोरीकहाँ गयो र छोरीसँग भलाकुरसारी गर्यो । छोरीले भनी, "सबै कुरा बेसै छ । तर पानी राम्ररी परेको छैन । ठूलो पानी पर्यो भने रुख बिरुवा सप्रन्थे । आम्दानी राम्रो हुन्थ्यो ।"
जेठी छोरीको घरबाट फर्केको केही दिनपछि ऊ कुमालसँग बिहे गर्ने कान्छी छोरीको घरमा गयो । उसले छोरीसँग सँचोबिसँचो सोधेपछि छोरीले भनी, "मलाई सबै कुरा पुगेकै छ । मेरो एउटा मात्रै इच्छा छ । त्यो के भने पानी नपरे हुन्थ्यो । चर्को घाम लाग्यो भने हामीले बनाएका माटाका भाँडा राम्ररी सुक्ने थिए । अनि भाँडा बेचेर राम्रो आम्दानी हुने थियो ।"
छोरीको कुरा सुनेर बाबु अलमल्ल पर्यो । उसले भन्यो, "जेठी माग्छे पानी, कान्छी माग्छे घाम । म एक्लो बूढो कतातिर जाम ?"
८५ मृगको पाठो र उसकी आमा
मृगको एउटा फुच्चे पाठोले एक पल्ट आफ्नी आमालाई भन्यो, "आमा, तिमी कुकुरभन्दा ठूलो छौ, त्याभन्दा छिटो दगुर्न सक्छौ । तिमीसँग दुइटा तीखा सिङ पनि छन् । तिमीसँग आफ्नो रक्षा गर्ने साधन हुँदा हुँदै पनि किन तिमी कुकुरसँग यस्तो विधि डराउँछौ आमा ?"
"हो छोरा मसँग तिमीले भनेका सबै कुरा छन् तर एक्लो कुकुर भुकेको सुन्ने बित्तिकै मेरो होस उड्छ । म सकेसम्म जोडले भाग्न थाल्छु । डराएपछि कुनै पनि तर्कले काम गर्ने रहेनछ ।"
८६ लडाकू भाले र बाज
गोठको रजाइँ गर्ने विषयमा कुखुराका दुइटा भालेबीच घमासान लडाइँ भइरहेको थियो । आखिरमा एउटा भाले भाग्यो । भगुवा भाले गोठको एउटा कुनामा बसेर चुप लागेर बस्यो । जित्ने भाले अग्लो पर्खालमाथि चढ्यो र घमण्डले छाती फर्काउँदै र पखेट फट्फटाउँदै भएभरको बल झिकेर बास्यो । उसले गोठमाथि आफ्नो एकलौटी अधिकार भएको घोषणा गर्यो ।
एउटा बाज भालेहरूको लडाइँ हेर्दै आकाशमा उडिरहको थियो । उसले पर्खालमाथि सानसँग बासिरहको भालेमाथि हमला गर्यो र पंजामा गाँजेर आफ्नो गुँडतिर लग्यो ।
हरुवा भाले तुरुन्तै बाहिर आयो । त्यसपछि उसले गोठको रजाइँ आफूले गर्ने घोषण गर्यो । घमण्डले बिनाश निम्त्याउँछ भनेको साँच्चै हो ।
८७ उपियाँ र साँढे
एउटा उपियाँले साँढेसँग यस्तो प्रश्न सोध्यो, "तिमी यति विशाल र बलियो भएर पनि किन मानिसको चाकरी गर्छौ ? मानिसले तिमीमाथि अन्याय गर्दा पनि सहन्छौ । किन ? मलाई हेर त म यति सानो जीव भएर पनि मानिसहरूमाथि दया नगरी उनीहरूकै रगत खाएर बाँच्छु ।"
साँढेले जवाफ दियो, "मलाई मानिसले माया गर्छ । दानापानी ख्वाउँछ । मेरो जिउ मुसार्छ । बेलाबेलामा काँध थपथपाएर स्याबासी दिन्छ । म मानिसप्रति अकृतज्ञ हुन चाहन्न ।"
"यस्तो स्याबासीबाट मलाई बचाऊ ! मेरो जिउमा यसरी थपथपायो भनेत म एक चोटीमै खुत्रुक्कै हुन्छु ।" उपियाँले भन्यो ।
८८ झिँगा र मह
कोठामा महको भाँडो घोप्टिएर मह पोखिएको थियो । केही झिँगाहरू महतिर लोभिए । उनीहरू महमाथि बसेर आत्तिँदै मह खान थाले । उनीहरूले आफ्नो खुट्टा महमा अडकिएको चालै पाएनन् । मह खाएर अघाएपछि उनीहरू उडन खोजे तर महमा खुट्टा बेस्सरी टाँसिएको हुनाले उनीहरू उम्कन सकेनन् । मर्ने बेलामा उनीहरूले भने, "केही बेरको आनन्दका लागि हामीले ज्यान गुमायौँ । कस्ता मूर्ख रहछौँ हामी !"
८९ सिकारी र सर्प
एक जना सिकारी चरा समात्ने औजार लिएर बनतिर गयो । एउटा रुखको हाँगामा राम्रो चरा देखेर उसले त्यसलाई समात्ने विचार गर्यो । चरा समात्नका लागि उसले पासो मिलाउन थाल्यो । उसको पूरै ध्यान हाँगामाथि बसेको चरातिर थियो । उसले बारम्बार चरालाई हेरिरहेको थियो । यसले गर्दा उसले आफ्नो खुट्टानेर सर्प सुतिरहको चालै पाएन । अचानक उसको खुट्टा सर्पको जिउमाथि पर्यो । रिसाएको सर्पले उसलाई डस्यो । सर्पको बीषले बेहोस हुँदै उसले सोच्यो, "अरुलाई मार्न पासो थाप्दाथाप्दै म आफै मृत्युको पासोमा परेँ । मलाई धिक्कार छ ।"
९० फ्याउरो र चितुवा
फ्याउरो र चितुवाबीच को धेरै सुन्दर छ भन्ने विषयमा विवाद पर्यो । चितुवाले आफ्नो जिउमा सजाइएको कालोकालो थोप्ला एकएक ओटा गरेर देखायो र आफ्नो सुन्दरताको बयान गर्न थाल्यो । तर उसलाई बीचैमा रोकेर फ्याउरोले भन्यो, "तर म तिमीभन्दा धेरै सुन्दर छु, किन भने मेरो शरीर होइन दिमाग सजिएको छ ।
९१ फ्याउरो र दाउरे
सिकारी कुकुरहरूबाट लखेटिको एउटा फ्याउरो दाउरेको नजिकै आइपुग्यो । उसले दाउरेसँग शरण माग्यो । दाउरेले उसलाई आफ्नो छाप्रोभित्र लुक्न भन्यो । उसले त्यसै गर्यो । एक छिनपति सिकारीहरू फ्याउरोलाई खोज्दै आए । उनीहरूले दाउरसँग फ्याउरोलाई देख्यौ कि भनेर सोधे । दाउरेले देखिन भन्यो । तर उसले आफ्नो छाप्रोतिर औँल्यायो । मुखले देखिन भने तापनि उसले छाप्रोतिर इसारा गरिरहको थियो । तर सिकारीहरूले उसको इसारातिर ध्यान दिएनन् । उसको कुरा पत्याएर उनीहरू फ्याउरोलाई खोज्न अगाडि बढे ।
सिकारीहरू टाढा गएपछि फ्याउरो छाप्रोबाट निस्क्यो र दाउरेसँग बोल्दै नबोली बनतिर जान लाग्यो । फ्याउरोको यस्तो चाल देखेर दाउरेले भन्यो, "तिमी कति अकृतज्ञ रहेछौ । तिम्रो ज्यान जोगाएकोमा धन्यावादसम्म नदिई जान लाज लाग्दैन ?"
फ्याउरोले जवाफ दियो, "यदि तिम्रो भनाइ तिम्रो कामसँगै मिल्ने भए अनि तिम्रा हातहरूले तिम्रो भनाइको ठिक उल्टो काम नगरेको भए निश्चय नै मैले तिमीलाई हृदयदेखि धन्यवाद दिनुपर्थ्यो ।"
९२ बोका र गोठालो
एउटा बोका बथानबाट भाग्यो । गोठालोले निक्कै प्रयास गर्दा पनि ऊ बथानमा फर्कन मानेन । गोठालोलाई रिस उठ्यो । उसले बोकालाई ढुंगाले हान्यो । ढुंगाले लागेर बोकाको सिङ भाँच्चियो ।
बोकाको सिङ भाँच्चिएको देखेर मालिकले उसलाई सजाय गर्ला भनेर गोठालो डरायो । उसले बोकालाई सिङ भाँच्चिएको कुरा मालिकसँग नभन भनेर अनुरोध गर्यो । बोकाले जवाफ दियो, "मैले नभनेर के गर्ने मेरो सिङले भनिहल्छ । लुक्न नसक्ने कुरा किन लुकाउने ?"
९३ खरायो र सिकारी कुकुर
एउटा सिकारी कुकुरले खरायोलाई लखेट्न थाल्यो । केही बेरपछि उसले लखेट्न छाड्यो । त्यो देखेर गोठालोले कुकुरलाई जिस्क्याउँदै भन्यो, "तिमी दुईमध्ये खरायो नै धेरै दौडन सक्ने रहेछ ।" यो सुनेर कुकुरले जवाफ दियो, "तिमीले हामी दुइबीच फरक देखेन छौ । म खानेकुराका लागि दौडिरहको थिएँ भने खरायो ज्यान जोगाउन दौडिरहको थियो ।"
९४ खरायो र सिंह
जानवरहरूको सभामा एउटा खरायोले प्रस्ताव राख्यो, "सबै जानवर बराबरी हुनुपर्छ । कसैले कसैमाथि अन्याय गर्न पाउन्न ।"
उसको कुरा सुनेर सिंहले भन्यो, "हेर खरायो, तिम्रा शब्दहरू सुन्नका लागि मिठा छन् । तर तिनमा हाम्राजस्ता दाँत र नंग्रा छैनन् ।"
९५ घोडा र घोडसवार
एक जना घोडसवार सिपाही थियो । उसले आफ्नो घोडाको निक्कै स्याहार सुसार गर्थ्यो । लडाइँ चल्दासम्म उसले घोडालाई आफ्नो प्यारो साथीलाई जस्तै माया गर्यो । आफ्नै हातले पोसिलो अन्न ख्वायो । तर लडाइँ रोकिएपछि उसलाई वास्ता गर्न छाड्यो । अन्नको सट्टा भुस खान दियो । आफू चढ्नुको सट्टा गह्रुँगो भारी बोकायो । काठ, दाउरा ढुँगा ओसार्न लगायो । उसलाई साह्रै हेला गर्यो ।
केही समयपछि लडाइँ फेरि सुरु भयो । सिपाहीलाई फेरि लडाइँमा जानु पर्यो । उसले घोडामाथि फौजी साजबाज सहित काठी कस्यो । अनि ऊ घोडामाथि चढ्यो । तर उसलाई घोडाले धान्न सकेन । ऊ लोट्यो । बिचरो घोडाले भन्यो, "मालिक अब तपाईँ पैदल नै लडाइँमा जानुपर्छ । तपाइँले मलाई घोडाबाट गधा बनाइदिनु भयो । अब अचानक म कसरी फेरि घोडा बन्न सक्छु र !"
९६ कौवा र परेवा
परेवाहरूलाई खोर बनाइ दिएर सँधै चारो ख्वाएको देखेर एउटा कौवालाई पनि परेवाजस्तै हुन मन लाग्यो । उसले आफ्नो जिउमा सेतो रोगन पोत्यो र परेवाको हुलमा मिसिएर बस्न थाल्यो । कौवा नबोलेसम्म परेवाहरूले उसलाई पनि आफूजस्तै ठाने र सँगै खान खेल्न दिए । तर ऊ कराउन थालेपछि उनीहरूले उसको असली रूप थाहा पाए र उसलाई गुँडबाट धपाइदिए ।
कौवा फर्केर आफ्नै बथानमा गयो । तर उसको रंगले गर्दा कौवाहरूले उसलाई आफ्नो बथानमा बस्न दिएनन् । यसरी दुइटा डुँगामा चढ्न खोज्दा न यताको न उताको भयो ।
९७ बाँदर्नीको बच्चा
जंगलमा कुन जानवरको बच्चा सबैभन्दा राम्रो छ भन्ने प्रतियोगिता भइरहको थियो । बाँदरनीले आफ्नो काखको बच्चा लिएर प्रतियोगिता भएको ठाउँमा गई र आयोजकहरूलाई बच्चा देखाई । नहुर्केको बाँदरको बच्चाको रौँ पनि थिएन । नाक थ्याप्चो थियो । हेर्दै नराम्रो !
बाँदरको बच्चाले पनि सौर्न्दर्य प्रतियोगितामा भाग लिएको देखेर सबै पशुहरू हाँसे । व्यंग्य गरे । तर बाँदर्नीले आफ्नो बच्चाको तरिफ गर्दै भनिन्, "आयोजकहरूले यसलाई पुरस्कार दिन्छ कि दिन्न म भन्न सक्तिन । तर मलाई के थाहा छ भने कम्तीमा पनि म उसकी आमाको दृष्टिमा यो बच्चा सबैभन्दा मायालाग्दो, सबैभन्दा सुन्दर र सबैभन्दा सुशील छ ।"
९८ चखेवा र उसका चल्लाहरू
चखेवाले गहुँको खेतको बीचमा गुँड बनाएको थियो । गहुँ पाक्ने बेलामा चल्ला पनि हुर्के । चल्लाहरू उडन सिक्दै थिए । त्यसै बेला खेतको धनी किसान आएर पाकेको गहुँ काट्ने बेला भइसकेको थाहा पायो । उसले भन्यो, "भोलि नै छिमेकीहरूलाई बोलाएर ल्याएर यो गहुँ काट्नु पर्यो ।"
चखेवाको चल्लाले यो कुरा सुनेको थियो । उसले यो कुरा साँझ आफ्नी आमालाई सुनायो । किसानले गहुँ काटेपछि चखेवाको गुँड भत्कन्छ, अनि त्यसपछि कहाँ बस्ने भन्ने आसयले चल्लाले त्यो कुरा सुनाएको थियो । तर आमा चखेवीले भनी, "डराउनु पर्ने बेला अझै आइसकेको छैन । अरुको सहायताले काम गर्ने मानिसले बेलामा काम गर्नसक्तैन ।"
केही दिनपछि फेरि किसान गहुँ हेर्न आयो । गहुँको बाला लत्रेर झर्न लागेको उसले देख्यो । उसले भन्यो, "अब त भएन । भोलि म आफै आएर गहुँ काट्छु ।"
साँझ चारा खोजेर आउँदा चखेवीलाई उसका चल्लाहरूले किसानले भनेको कुरा सुनायो । चल्लाको कुरा सुनेर आमा चखेवीले भनी, "अब एक छिन पनि यहाँ बस्नु हुँदैन । पक्कै पनि किसानले भोलि बिहानै आएर गहुँ काट्न थाल्नेछ । जसले आफै काम गर्छु भन्छ उसले पक्कै पनि गर्छ ।"
९९ सिंह र बँदेल
गर्मीको दिन थियो । पानीका मुहानहरू सुकेका थिए । तिर्खाले छटपटाएको सिंह र बँदेल एकै चोटि एउटा सानो पँधेरामा पुगे । पँधेरामा पानी सुक्नै लागेको थियो । कसले पहिले पानी खाने भन्ने कुरामा बँदेल र सिंहबीच झगडा भयो । उनीहरू आपसमा डरलाग्दो सँग लडन थाले ।
धेरै बेर लडेर दुबै जानवर थाकेपछि उनीहरूले आफ्नो वरिपरि हेरे । उनीहरूभन्दा केही पर स्याल, गिद्ध र ब्वाँसाहरू भोज खान पर्खेर बसेको उनीहरूले देखे । उनीहरूले अचानक लडाइँ रोके र मित्रताको हात मिलाउँदै भने, "स्याल र गिद्धको आहार बन्नुभन्दा त साथी बन्नु बेस ।"
१०० सिंह र डल्फिन
एउटा सिंहले समुद्रको किनारामा घुम्दाघुम्दै डल्फिन माछाले पानीबाट टाउको बाहिर निकालेको देख्यो । सिंहले डल्फिनसँग मित्रताको प्रस्ताव राख्यो । डल्फिनले पनि सिंहको प्रस्ताव खुशीसँग मान्यो । उनीहरूले जानवरहरूमध्ये सबैभन्दा असल मित्र बन्ने र एकअर्कालाई आपत आइपर्दा सघाउने बाचा गरे ।
केही दिनपछि सिंहको राज्यमाथि जंगली अर्नाहरूले हमला गरे । सिंहले डल्फिनसँग मदत माग्यो । तर डल्फिन कसरी जमिनमा आएर सिंहलाई मदत गर्न सक्थ्यो र ! सिंहले उसलाई धोकेबाज भनेर गाली गर्यो । अनि डल्फिनले जवाफ दियो, "मित्र, मलाई दोष नदेऊ । प्रकृतिलाई दोष देऊ । उसले मलाई समुद्रको राजा बनाए पनि जमिनमा हिँडनै नसक्ने बनाइदिएको छ । म के गरुँ ?"
१०१ सिंह र खरायो
एक पल्ट एउटा सिंहको जम्काभेट खरायोसँग भयो । खरायो सुतिरहको थियो । सिंहले खरायोलाई समात्नै लागेको थियो । अचानक उसले एउटा हरिण देख्यो । सिंह खरायोलाई छाडेर हरिणको पछि लाग्यो । यसैबीच खरायो जाग्यो र त्यहाँबाट कुलेलम ठोक्यो ।
धेरै बेरसम्म लखेट्दा पनि सिंहले हरिणलाई समात्न सकेन । ऊ खरायो भएको ठाउँमा फर्क्यो । खरायोलाई पनि नदेखेपछि उसले मनमनै भन्यो, "हातमा परेको खानेकुरा छाडेर ठूलो कुराको लोभ गर्दा फोस्सामा परेँ ।"
१०२ गोठभित्र चितुवा
एउटा भोको चितुवा गोठभित्र पस्यो । किसानले चितुवा समात्ने बिचारले गोठको ढोका थुन्यो । रिसाएको चितुवाले गोठका भेँडाहरू मार्यो । त्यसपछि गोरुहरूमाथि हमला गर्यो । अब किसान आफैमाथि चितुवाले हमला गर्ने डर भयो । उसले हत्तपत्त गोठको ढोका खोलिदियो र चितुवा भाग्यो ।
अनाहकमा भेँडा र गोरु नोक्सान भएकोमा किसान पछुतायो । तर यो सबै हेरिरहेकी उसकी पत्नीले भनी, "एक कोस पर चितुवा कराउँदा पनि डराउने तिमी डरछेरुवाले चितुवासँग एउटै गोठमा थुनिने आँट कसरी गर्यौ ?"
१०३ दुष्ट कुकुर
एउटा कुकुर साह्रै टोकाहा थियो । मानिस देख्ने बित्तिकै ऊ टोक्न दगुरिहाल्थ्यो । धेरै मानिसहरूले उसको गुनासो गरेपछि उसको मालिकले उसको घाँटीमा घण्टी झुण्ड्याइदियो । अब कुकुर कहाँ छ भनेर मानिसहरूले सजिलैसँग थाहा पाउन थाले ।
घाँटीमा घण्टी बाँधिएपछि कुकुर मख्ख पर्यो । मालिकले उसलाई माया गरेर इनाम दिएजस्तो लाग्यो । ऊ जहाँ गए पनि घाँटी हल्लाउँदै घण्टी बजाउँदै जानथाल्यो । यो देखेर एउटा बूढो कुकुरले उसलाई भन्यो, "किन यस्तो फुर्ती गरेर हिँडछस् ? तेरो घाँटीमा बाँधिएको घण्टी कुनै बहादुरीको चिनो होइन । न त त्यो कुनै गर्व गर्नुपर्ने बस्तु नै हो । त्यो त मानिसहरूले तँ आएको चाल पाउन् भनेर सूचना दिने साधन हो । त्यो घण्टी त तँ दुष्ट होस् भन्ने जनाउने सार्वजनिक सूचना हो बुझिस् । आफ्नो बेइज्जत हुने कुरालाई यसरी गर्वको रूपमा लिनु हुँदैन ।"
१०४ मुसा, भ्यागुता र चिल
मुसा सँधै जमिनमा बस्थ्यो । तर उसले पानी र जमिन दुबै ठाउँमा बस्ने भ्यागुतासँग मित लायो । एक दिन भ्यागुतालाई उटुँग्याइँ गर्न मन लाग्यो । उसले आफ्नो र मुसाको खुट्टा एकै ठाउँमा बाँध्यो । उनीहरू सँगसँगै उफ्रँदै चौरमा खानेकुरा टिप्न थाले । त्यसपछि भ्यागुताले मुसालाई बिस्तारै आफू बस्ने पँधेरातिर लग्यो । पँधेराको डिलमा पुगेर भ्यागुतो अचानक पानीमा फालहाल्यो । भ्यगुता सँगै मुसा पनि पानीमा पुग्यो । भ्यागुता पानीभित्र पसेर केके नै गरेँ भनेर दंग पर्दै खेल्न थाल्यो । तर मुसा पानीमा निसास्सिएर मर्यो ।
मरेको मुसा पानीमा तैरिरहेको देखेर आकाशमा उडिरहेको चिल तल झर्यो र मुसालाई पंजाले समातेर आकाशतिर लाग्यो । मुसाको खुट्टा भ्यागुताको खुट्टासँग बाँधिएको हुनाले भ्यागुता पनि मुसासँगसँगै आकाशमा पुग्यो । मुसा खान खोजेको चिलले भ्यागुता पनि खान पाएर दंग पर्यो । कुकर्म गर्दा यस्तै फल पाइन्छ ।
१०५ मयुर र सारस
मयुरको नजिकैबाट एउटा सारस हिँडिरहेको थियो । मयुरले आफ्नो सुन्दर पखेटा र पुच्छर फिँजार्यो र जिउमा कुनै बुट्टा र रंग पनि नभएको निख्खुर सेतो सारसलाई होच्याउँदै भन्यो, "हेर म राजाजस्तै गरी सिंगारिएको छु । इन्द्रेणीका सातै रंग र सुनौला रंगको बुट्टाले मेरो शरीर सजिएको छ । तिम्रो जिउमा हेर त रंगको एक थोपा पनि छैन ।"
"हो, तिमीले ठिक भन्यौ । तर म उडेर स्वर्गसम्म पुग्नसक्छु । मेरो स्वर ताराहरूले समेत सुन्न सक्छन् । तर तिमी सँधै यही जमिनमा, गोबरमा खेल्ने कुखुराहरूको बीचमा रमाएर बस्छौ । राम्रो प्वाँख हुँदैमा राम्रो भाग्य हुँदैन ।"
१०६ नुन व्यापारी र गधा
एक जना नुनु व्यापारी नुन किनेर गधामाथि लादेर गाउँतिर जाँदै थियो । बाटोमा खोला पर्थ्यो । खोला तर्दा संयोगले गधाको खुट्टा चिप्लिएर पानीमा बुड्यो । पानीबाट निस्कँदा गधाले आफ्नो भारी हलुँगो भएको चाल पायो । पानीमा भिजेर नुन पग्लेपछि भारी हलुँगो हुने नै भयो ।
व्यापारीले अर्को पटक पनि उसलाई नुनको भारी नै बोकायो । खोला तर्ने बेलामा ऊ आफै पानीमा पस्यो । केही बेर पानीमा बसेर उठ्दा उसको भारी स्वात्तै घट्यो । ऊ दंग परेर पानी बाहिर निस्क्यो । व्यापारीले गधाको चाल बुझयो ।
अर्को पटक व्यापारीले गधालाई काम्लोको भारी बोकायो । यस पल्ट पनि भारी हलुँगो बनाउने विचारले गधा पानीमा पस्यो । तर काम्लोले पानी सोसेर उसको भारी पहिलेभन्दा धेरै गह्रुँगो भयो । गधा आफ्नो चालले आफै फस्यो ।
१०७ मूर्ति व्यापारी
एक जना मूर्तिकारले देवताको मूर्ति बनाएर बजारमा बेच्न लग्यो । तर मूर्ति किन्ने ग्राहक नभेटेपछि ऊ मूर्तिको प्रचार गर्दै ठूलो स्वरले चिच्याउन थाल्यो, "भगवानको मूर्ति किन्नुस् । यो मूर्ति जसले घरमा राख्छ उसलाई फाइदै फाइदा हुन्छ । उसको धन सम्पत्ति बढ्छ । राम्रो जागिर पाउँछ । खेतीपाती सप्रन्छ । लौ किनिहाल्नुस् ।"
उसको नजिकै बसेर उसको कुरा सुनिरहेको एक जना मानिसले भन्यो, "यो मूर्ति यति गुणकारी भए तिमी आफैले घरमा किन राख्दैनौ ? तिम्रै भाग्य सप्रने थियो ।"
उसको कुरा सुनेर मूर्ति व्यापारीले भन्यो, "यो मूर्तिले बिस्तारै फाइदा दिन्छ । मलाई तुरुन्तै पैसाको खाँचो छ ।"
१०८ गोठालो र ब्वाँसो
एक जना गोठालोले ब्वाँसोको पाठो भेटायो र घरमा ल्याएर पाल्न थाल्यो । उसले पाठोलाई छिमेकको कुखुरा र भेडाका पाठा चोर्न सिकायो । उसले पनि चाँडै नै चोर्न जान्यो । एक दिन ब्वाँसोको पाठोले गोठालोसँग भन्यो, "तिमीले मलाई चोर्न सिकाएको हुनाले अब तिमी पनि चनाखो हुनुपर्छ । नत्र तिम्रै भेँडाको पाठो हराउला ।"
१०९ बिरामी हरिण
एउटा हरिण बिरामी भएर चौरको एउटा कुनामा एक्लै बसिरहेको थियो । उसका साथीहरू उसको हालखबर बुझन आए । जोजो आए प्रत्येकले उसको घाँसको केही भाग खाएर गए । भेट्नेहरू यति धेरै आएकि उसको खानेकुरा नै बाकी रहेन । केही दिनपछि हरिण मर्यो । तर ऊ बिरामी परेर होइन भोकले मर्यो । खराब साथीहरू भयो भने यस्तै हुन्छ ।
११० भाले मारी पछुतो
एउटी महिलाको घरमा दुइटी नोकर्नी थिए । महिलाले नोकर्नीहरूलाई भालेको डाकमा उठाउँथिन् र दिनभरि काममा जोताउँथिन् । बिहान सबेरै भाले बास्ने बित्तिकै उठ्नु पर्दा उनीहरूलाई साह्रै गाह्रो लाग्थ्यो । यसैले उनीहरूले भालेलाई मार्ने निधो गरे । एक रात उनीहरूले भालेको घाँटी निमोठिदिए ।
तर भाले नभएपछि ती महिलालाई समयको अडकल हुन छाड्यो । अब उनले भाले बास्नुभन्दा धेरैपहिले नै उनीहरूलाई उठाएर काममा लगाउन थालिन् ।
१११ दाउरे र जल देवता
एक जना दाउरे खोलाको छेऊमा रुख काटिरहको थियो । अचानक उसको हातबाट रुख काट्ने बंचरो खोलामा खस्यो । खोला गहिरो थियो । यसैले उसले बंचरो भेट्टाउन सकेन । दाउरा काट्न पाएन भने ऊ भोकै बस्नुपर्थ्यो । यसैले खोलाको छेऊमा बसेर ऊ रुन थाल्यो । उसको दुःख देखेर जल देवता उसको अगाडि आए र किन रोएको भनी सोधे । दाउरेले रुनुको कारण बतायो । त्यसपछि जलदेवता पानीभित्र पसे र सुनको बंचरो हातमा लिएर देखाउँदै दाउरेसँग तिम्रो बंचरो यही हो कि भनी सोधे ।
दाउरेले हातमा सुनको बंचरो लियो र ओल्टईपल्टाई हेरेपछि भन्यो, "यो मेरा बंचरो होइन । मेरो बंचरो त फलामले बनेको थियो ।"
यो सुनेर जल देवता फेरि पानीमा पसे । यस पटक उनले चाँदीको बंचरो हातमा लिएर आए । दाउरेले फेरि त्यो बंचरो लिएर हेर्यो र यस पटक पनि त्यो बंचरो मेरो होइन भनेर फर्कायो ।
अनि जल देवता फेरि पानीमा डुबे र फलामको बंचरो लिएर आए । आफ्नो बंचरो देखेर दाउरे दंग पर्यो । उसले बंचरो लिँदै जल देवतालाई धन्यवाद दियो ।
दाउरेको इमान्दारीबाट प्रभावित भएर जल देवताले उसलाई सुन र चाँदीको बंचरो पनि उपहार दिए ।
घर फर्केर दाउरेले बनमा भएको घटना साथी र छिमेकीहरूलाई पनि सुनायो । उसको कुरा सुनेर अर्को दाउरेले तुरुन्तै बनमा गएर सुनको बंचरो हात पार्ने बिचार गर्यो । उसले जानीजानी खोलामा बंचरो फाल्यो र खोलाको छेऊमा बसेर रुन थाल्यो । जल देवता आएर किन रोएको भनेर सोधे । उसले आफ्नो बंचरो पानीमा खसेको कुरा सुनायो । जल देवता पानीमा पसे र हातमा सुनको बंचरो लिएर बाहिर आए । "तिम्रो बंचरो यही हो ?" जल देवताले सोधे । लोभी दाउरेले हत्तपत्त भन्यो, "हो, मेरो बंचरो यही हो ।"
दाउरेको लोभ र बेइमानी देखेर जल देवता रिसाए । उनी सुनको बंचरो लिएर पानी भित्र पसे र दाउरे जत्ति रोए कराए पनि निस्केनन् । दाउरेले आफ्नो फलामको बंचरो पनि गुमायो ।
११२ गधा र गधाको ग्राहक
एक जना मानिसलाई गधा किन्न मन लाग्यो । गधाको मालिकसँग उसले गधा घर लगेर जाँचेर राम्रो लाग्यो भने किन्छु भन्यो । गधाको मालिकले उसको कुरा मंजुर गर्यो ।
मानिसले गधा घर लग्यो र अरु गधाहरूलाई राखेको तबेलामा छाडिदियो । त्यो गधा अरु सबै गधालाई छाडेर तबेलाको सबैभन्दा अल्छी र खंचुवा गधाको छेउमा गयो र भुस खान थाल्यो ।
यो देखेर मानिसले गधा उसको मालिकलाई फर्काइदियो । यति चाँडै गधा कसरी जाँच्यो होला भनेर गधाको मालिक छक्क परेर ऊसँग सोध्यो । उसले जवाफ दियो, "मैले अरु जाँच गर्नै परेन । उसले जस्तो साथी राज्यो ऊ पनि त्यस्तै होला भन्ने मैले अडकल गरिहालेँ । जसले पनि आफूजस्तै साथी रोज्छ भनेको साँच्चै हो ।"
११३ सूर्यको विरुद्ध भ्यागुताको उजुरी
एक पल्ट सूर्यले बिहे गर्ने विचार गरेको कुरा सबैलाई सुनायो । यो कुरा सुनेर भ्यागुताहरूले आकाशलाई गुनासो गरे । भ्यागुताहरूको ट्यारट्यार सुनेर वाक्क भएका देवताले उनीहरूसँग किन सूर्यको विरुद्ध गुनासो गरेको भनेर सोधे । एउटा भ्यागुता अगाडि सरेर भन्यो, "सूर्य एक्लो हुँदा त उसले हाम्रो पोखरी, पँधेरा, ओसिलो जमिन सुकाइदिन्छ र हामी सुख्खा र गर्मीले अकालमा मर्नुपर्छ । अब सूर्यले बिहे गरेर अर्को सूर्य जन्माएपछि हाम्रो हालत के होला ?"
११४ भेँडाको पाठो र ब्वाँसो
एउटा ब्वाँसोले भेँडाको पाठोलाई पछ्यायो । पाठो भाग्दै एउटा मन्दिरभित्र पस्यो । ब्वाँसोले पाठोलाई बाहिर बोलाउँदै भन्यो, "पुजारीले भेट्टायो भने तँलाई बली दिनेछ । त्यसैले बाहिर आइज ।" त्यसको जवाफमा पाठोले भन्यो, "तेरो आहारा बन्नु भन्दा त मन्दिरमा बली चढ्नु बेस ।"
११५ सिंह र गोठालो
एउटा सिंह जंगलमा घुम्दै थियो । उसको खुट्टामा काँढा बिझ्यो । ऊ खोच्याउँदै हिँडदै थियो । त्यही बेला उसले एक जना गोठालोलाई देख्यो । उसले पुच्छर हल्लाउँदै गोठालोलाई बडो मायालाग्दो स्वरले बोलायो । मानौँ उसले भन्दै थियो, "म दुःखमा परेको छु । मलाई तिम्रो मदत चाहिएको छ ।"
गोठालोले आँट गरेर उसको नजिक गयो र उसको खुट्टा जाँच्यो । उसको पंजामा गडेको काँढा भेट्टायो । उसले सिंहको पंजालाई आफ्नो काखमा राखेर त्यहाँ गडेको काँढा झिकिदियो । त्यसपछि सिंह कृतज्ञ हुँदै जंगलतिर लाग्यो ।
केही समयपछि एक पल्ट त्यही गोठालो झुटो आरोप लागेर पक्रियो । उसलाई उसले गर्दै नगरेको अपराधबापत सिंहको आहार बनाउने सजाय सुनाइयो । तर सिंहको खोरमा उसलाई राख्दा सिंहले उसलाई चिन्यो । त्यो त्यही सिंह थियो जसको खुट्टाबाट गोठालोले काँढा झिकिदिएको थियो । सिंहले उसलाई हमला गर्नुको सट्टा उसको नजिक गएर आफ्नो पंजा उसको काखमा राखिदियो ।
यो कुरा राजाकहाँ पुग्यो । राजाले गोठालोको कुरा सुनेपछि सिंहलाई बनमा लगेर छाडिदियो र गोठालोलाई पनि माफी दियो ।
११६ सिंह र हात्ती
भाले बासेको सुनेर सिंह डराउँथ्यो । यो कुरा उसको बल र स्वाभिमानलाई सुहाउने कुरा थिएन । सिंहले सोच्थ्यो, "म सबैभन्दा बलियो छु । सुन्दर र फुर्तिलो पनि छु । हमला गर्न बेजोड छु । मेरा दाँतहरू र पंजाहरू पनि बलिया छन् । मलाई सबैले बनको राजा मान्छन् । यस्तो हुँदाहुँदै पनि मलाई कुखुराको भालेले तर्साउँछ । यो त साह्रै लाजमर्नु कुरा हो ।" यस्तो बिचार आउँदा उसलाई कहिलेकाहीँ मर्न मन लाग्थ्यो ।
यस्तो पिर लिएर सिंह बनमा घुमिरहेको बेलामा उसको भेट हात्तीसँग भयो । हात्ती र सिंहको बीचमा भलाकुसारी भयो । हात्तीले कुरा गर्दैगर्दा उसले लगातार कान हल्लाइरहेको देखेर सिंहलाई अचम्म लाग्यो । उसले हात्तीसँग किन यसरी एकछिन पनि नबिराइकन कान हल्लाइरहेको भनेर सोध्यो ।
त्यही बेला हात्तीको निधारमा एउटा भुसुना बस्यो । अनि हात्तीले जवाफ दियो, "तिमीले देखेनौ यो सानो भुसुना किरालाई । यो भुसुना मेरो आँखामा पस्यो भने मैले केही पनि देख्दिन अनि म मर्छु ।"
हात्तीको कुरा सुनेर सिंहले भन्यो, "यति विशाल जीव पनि त्यति सानो भुसुनासँग डराउँछ भने मैले कुखुरासँग डराउनुमा दुःख मान्नुपर्ने कारण नै छैन । अब मेरो कुनै गुनासो छैन । म त हात्तीभन्दा धेरै राम्रो अवस्थामा रहेछु ।"
११७ सिकारी र तित्रा
एउटा तित्रा सिकारीको पासोमा पार्यो । तित्राले आफूलाई नमार्न बिन्ती गर्दै सिकारीसँग भन्यो, "दया गरेर मलाई नमार्नु होस् । यसको बदलामा मैले अरु धेरै तित्राहरूलाई बोलाएर तपाईँको पासोमा पार्न सघाउनेछु ।"
तित्राको कुरा सुनेर सिकारीले भन्यो, "तैँले आफ्ना दाजुभाइ र आफन्तहरूलाई फँसाएर आफ्नो ज्यान जोगाउन खोज्दैछस् । त्यसैले तेरो ज्यानलाई अब सास्ती दिईदिई मार्नुपर्छ ।"
११८ किसान र स्याउको बोट
किसानको बारीमा स्याउको एउटा बोट थियो । त्यसमा फल फल्न छाडेको थियो । रुखमा चरा र किराफटेंग्रा मात्रै बस्थे । यसैले किसानले त्यो रुख काट्ने निधो गर्यो । उसले बंचरोले रुख काट्न खोज्दा चरा र किराहरूले किसानसँग रुख नकाट्न अनुरोध गरे । उनीहरूले किसानलाई मिठो गीत सुनाएर उसको थकाइ मेटिदिने बाचा गरे । तर किसानले उनीहरूको कुरा मानेन । उसले रुख काट्न थाल्यो ।
यसरी दुईतीन चोट हानेपछि रुखको फेँदमा एउटा प्वाल भेट्टियो । त्यो प्वाल रुखको फेँदमा भएको ठूलो टोड्कोको मुख रहेछ । टोडकोमा मौरीको घार रहेछ । अनि घारमा ताजा, बाक्लो सुनौला रंगको मिठो मह रहेछ । मह चाखेर किसान दंग पर्यो । उसले बंचरो बिसायो र वपरिपरि ढुंगा र माटो राखेर रुखलाई जोगाउने उपाय गर्न थाल्यो । केही मानिसहरू आफ्नो फाइदाका लागि मात्रै अरुको भलो गर्न तम्सन्छन् ।
११९ बाख्रीको दाढी
बाख्रीहरूले देउतासँग पुकारा गरेर दाढी पाए । यो कुरा बोकाहरूलाई मन परेन । उनीहरूले पोथी जातीलाई सम्मानको चिन्ह दिएकोमा देउतासँग गुनासो पोखे । बोकाहरूको कुरा सुनेर देउताले भने, "उनीहरूको दाढी भएर के भयो । यो त खोक्रो सम्मान हो । वास्तवमा बलिया र साहसी त तिमीहरू नै छौ । आफूभन्दा कमजोरहरू बाहिर देखावटी रूपमा आफू बराबर देखिएर के भयो र !"
१२० भाले र चोरहरू
केही चोरहरू एउटा घरमा पसे । तिनीहरूले घरमा कुखुराको एउटा भालेबाहेक केही भेटाएनन् । तिनीहरूले त्यही भाले चोरेर लगे । चोरहरूले भालेलाई काट्ने बेलामा भालेले चोरहरूसँग आफूलाई नमार्न बिन्ती गर्दै भन्यो, "मलाई नमार्नुस् । किनकि म मानिसहरूका लागि निक्कै काम लाग्ने चरा हुँ । मैले मानिसहरूलाई सबेरै जगाएर काममा लाग्न प्रेरित गर्छु ।"
चोरहरूले भने, "त्यही कारणले त हामीले तँलाई मार्न लागेको हो । तैँले मानिसहरूलाई जगाइदिँदा हाम्रो काममा बाधा पर्छ । हाम्रो काम नै बिफल हुन्छ ।" राम्रो गुण पनि दुष्टहरूका लागि बैगुन हुन्छ ।
१२१ मानिसका दुइटा झोला
एउटा पुरानो लोककथाको भनाइअनुसार हरेक मानिस जन्मदा आफूसँग दुइटा झोला लिएर जन्मन्छ । एउटा झोला उसको अगाडितिर झुण्डिएको हुन्छ र अर्को झोला पछाडितिर हुन्छ । अगाडिको झोलामा उसको छिमेकीहरूका बैगुनहरू भरिएको हुन्छ भने पछाडिको झोलामा उसका आफ्नै बैगुनहरू भरिएका हुन्छन् । यसै कारण उसले छिमेकीका बैगुनहरू तुरुन्तै देख्छ तर आफ्ना बैगुनहरू दैख्नसक्तैन ।
१२२ घोडा र घोडी
एक जना किसानले एउटा घोडा र एउटी घोडी पालेको थियो । घोडाले दिनभरि खेतमा हलो जोत्थ्यो भने घोडी चौरमा घाँस खाँदै खेलिरहन्थी । घोडा राती मात्रै चौरमा चर्न पाउँथ्यो । एक दिन घोडीले घोडालाई भन्यो, "किन तिमी यति धेरै मेहनत गर्छौ ? तिम्रो ठाउँमा म भएको भए मैले यस्तो मेहनत गर्ने थिइन । किसानले मलाई कार्रा लायो भने मैले लात्तले हान्ने थिएँ ।"
घोडालाई घोडीको सल्लाह चित्त बुझयो । भोलि पल्ट उसले त्यस्तै गर्यो । घोडा अटेर भएको देखेर किसानले त्यसको ठाउँमा घोडीलाई हलो जोत्न लगायो ।"
१२३ ब्वाँसो र लोखर्के
एक पल्ट एउटा लोखर्के रुखका हाँगाहरूमा उफ्रँदै खेल्दै गर्दा झुक्किएर सुतेको ब्वाँसोमाथि खस्यो । ब्वाँसोले उसलाई समातेर खान खोज्यो । लोखर्केले उसलाई नमार्न ब्वाँसोसँग बिन्ती गर्यो । ब्वाँसोले भन्यो, "हुन्छ । म तिमीलाई छाडिदिउँला तर मलाई एउटा कुरा भन त । हामी ब्वाँसोहरू सँधै यस्तो दुःखी छौँ । तर तिमीहरू भने सँधै दंग परेर खेलि रहन्छौ ।"
लोखर्केले भन्यो, "पहिले मलाई रुखको हाँगामाथि जान देऊ अनि त्यहाँबाट मैले मेरो सुखको रहस्य भनुँला ।"
ब्वाँसोले उसलाई छाडिदियो । लोखर्के रुखको हाँगामाथि पुग्यो र त्यहीँबाट ब्वाँसोलाई भन्यो, "तिमी जहिले पनि अरुको कुभलो चिताइरहन्छौ । खराब विचारले गर्दा तिम्रो मुटु पोलिरहन्छ । यसैले तिमी सँधै दुःखी हुन्छौ । हामी लोखर्केहरू कसैको कुभलो चिताउँदैनौँ । जसलाई पनि सघाउन खोज्छौँ । यसैले हामी सँधै सुखी हुन्छौँ ।"
१२४ मुसा, भाले र बिरालो
एउटा सानो मुसा बाहिर घुम्न निस्केको थियो । घरको वरिपरि घुमेर फर्केपछि उसले आफ्नी आमालाई भन्यो, "आमा, आमा, मैले दुइटा जीवहरू देखेँ । तीमध्ये एउटा डरलाग्दो थियो । अर्को दयालु देखिन्थ्यो ।"
"ती जानवर हेर्दा कस्ता थिए बाबु ?" आमाले सोधी ।
सानो मुसाले जवाफ दियो, "एउटा डरलाग्दो थियो । ऊ छाती तन्काएर हिँडिरहेको थियो । उसको टाउकोमा रातो सिउर थियो । उसका पंजा मसिना र तीखा थिए । उसका आँखा गोलो थिए । नाख तीखो थियो । मलाई देख्ने बित्तिकै उसले एउटा खुट्टा उचालेर बेस्सरी करायो । म त डराएर भागेँ ।"
"ए, त्यो त कुखुराको भाले हो," मुसाकी आमाले भनी, "त्यसले कसैको कुभलो गर्दैन । त्योसँग डराउनु पर्दैन । अर्को जन्तु कस्तो थियो नि ?"
"अर्को सुधो जानवर पल्टेर घाम तापिरहको थियो । उसको घाँटी सेतो थियो । जिउभरि कालो र सेतो टाटेपाटे कमलो भुत्ला थियो । खुट्टा पनि नरम थिए । जिब्रोले जिउ चाटिरहको थियो । मलाई देखेर उसले लामो मसिनो पुच्छर बिस्तारै हाल्लायो ।" सानो मुसाले भन्यो ।
उसको कुरा टुंगिन नभ्याउँदै आमा मुसाले भनी, "ए बाबु, त्यो त बिरालो हो । त्यो त हाम्रो सबैभन्दा ठूलो शत्रु हो । त्यसबाट सँधै टाढा बस्नुपर्छ, नत्र एकै गाँस पार्छ ।"
१२५ बिरालोको घाँटीमा घण्टी
एउटा बिरालोले मुसाहरूलाई सखाप पार्दै थियो । मुसाहरूको वंशै नाश हुने डर थियो । संकट टार्न मुसाहरूको बैठक बस्यो । बिरालोबाट कसरी जोगिने भन्ने विषयमा धेरै बेर छलफल भयो तर कुनै काम लाग्ने उपाय निस्केन ।
आखिरमा एउटा सानो मुसाले उपाय निकाल्यो । उसले भन्यो, "बिरालो चाल मारेर आएको हामीले थाहै पाउँदैनौँ । हामीसँग भाग्ने समय नै हुँदैन । यसैले हामी मारिन्छौँ । यदि बिरालो नजिक आएको थाहा पाउन पाए हामीले भाग्ने समय पाउँने थियौँ । अनि हाम्रो ज्यान जोगिन्थ्यो । यसैले मेरो बिचारमा बिरालोको घाँटीमा घण्टी झुण्ड्याइदिन पाए त आनन्दै हुन्थ्यो । ऊ आएको कुरा घण्टीले थाहा हुन्थ्यो र भाग्न पाइनेथियो ।"
उसको सुझाव सुनेर एउटा बूढो मुसाले भन्यो, "तिम्रो सुझाव अति राम्रो छ । तर बिरालोको घाँटीमा कसले घण्टी बाँध्ने ? तिमी आफै अगाडि सरेर घण्टी बाँध्ने काम पनि गर्यौ भने हामीले तिमीलाई स्याबासी दिन्छौँ ।"
१२६ कछुवा र चिल
एक पल्ट एउटा कछुवालाई चराझैँ उडन मन लाग्यो । उसले चिलसँग उडन सिकाइदिन अनुरोध गर्यो । चिलले कछुवालाई उसको पखेटा नभएको हुनाले उडनसक्तैन भनेर धेरै सम्झायो तर कछुवाले जिद्दी गर्न छाडेन । दिक्क भएर चिलले कछुवालाई आफ्नो पंजाले समातेर आकाशमा पुर्यायो अनि लौ उड् भन्दै हावामा छाडिदियो । जिद्दी गर्ने मूर्ख कछुवा ढुंगामाथि खसेर त्यसको हाडखोड पनि बाकी रहेन ।
१२७ गधा र घोडा
एक जना मानिसले गधा र घोडा पालेको थियो । एक पल्ट ऊ गधालाई भारी बोकाएर कतै जाँदै थियो । घोडा रित्तै हिँडिरहेको थियो । गधाको भारी निक्कै गह्रुँगो थियो । उसले घोडालाई उसको भारीको केही सामान बोकेर सघाउन अनुरोध गर्यो । तर घोडाले उसको कुरा मानेन । गह्रुँगो भारी धान्न नसकेर गधा बाटोमुन्तिर खस्यो र घाइते भयो । त्यो मानिसले गधाको सबै सामान घोडालाई बोकायो । गधाको कुरा नमानेकोमा घोडा पछुतायो ।
१२८ किसान र कुखुरा
एउटा किसानको कुखुराले दिनको एउटा सुनको फुल पार्थ्यो । कुखुरालाई धेरै खानेकुरा ख्वायो भने दिनको दुइटा फुल पार्ला भन्ने आशले उसले कुखरालाई धेरैधरै चारो ख्वाउन थाल्यो । धेरै चारो खाएर कुखुरा दिनदिनै मोटाउन थाली । केही दिनपछि ऊ यति धेरै मोटाई कि उसले फुल पार्नै छाडी ।
१२९ गधा र बाघको छाला
एउटा गधाले बाघको छाला भेटायो । उसले रमाइलो गर्न भनेर त्यो छालाले आफ्नो जिउ छोप्यो । उसलाई देखेर अरु गधाहरू डराएर भाग्न लागे । गधालाई पनि रमाइलो लाग्यो । उसले आफ्नै आफन्त गधाहरूलाई लखेट्न थाल्यो । त्यही बेला बतास चल्यो र बाघको छाला उसको जिउबाट खस्यो । छालाभित्र गधालाई देखेर अरु गधाहरूले उसलाई बेस्सरी लात्तीले भकुरे र घाइते पारे ।
१३० बाबु र छोराहरू
एक जना बाबुका धेरै छोराहरू थिए । छोराहरू आपसमा मिल्दैनथे । बाबुले छोराहरूलाई मिलेर बस्न धेरै सम्झाए तर मानेनन् । एक पल्ट उनले छोराहरूलाई डाकेर कुचो लिन पठाए । उनले एकएक जना छोरालाई कुचोको मुठा भाँच्न लगाए । तर कसैले पनि भाँच्न सकेन ।
त्यसपछि उनले कुचोको मुठा फुकाएर एकएक वटा कुचोको डाँठ भाँच्न लगाए । छोराहरूले कुचोको डाँठ सजिलैसँग भाँचे ।
अनि बाबुले छोराहरूलाई भने, "कुचोका डाँठहरू मिलेर बस्दा तिमीहरूले भाँच्न सकेनौ । त्यस्तै तिमीहरू पनि मिलेर बस्यौ भने कसैले तिमीहरूको कुभलो गर्न सक्तैन । तर आपसमा झगडा गर्यौ भने कुचोको एकएक वटा डाँठजस्तै तिमीहरू पनि एक्लाएक्लै मासिन सक्छौ ।"
१३१ लाम्खुट्टे र सिंह
एउटा लाम्खुट्टेले सिंहसँग फुर्ती लायो, "तिमीले आफूलाई जंगलको राजा ठान्छौ । तिमीलाई सबैभन्दा बलियो छु भन्ने अभिमान छ । तर यो तिम्रो भ्रम हो । तिमीले मेरो केही पनि बिगार गर्न सक्तैनौ । लौ, ताकत छ भने मसँग लड ।"
यति भन्दै लाम्खुट्टेले सिंहको नाख, कान, गालामा टोक्न थाल्यो । सिंहले लाम्खुट्टेलाई मार्न खोज्दा आफ्नै पंजाले आफ्नो नाख मुखमा घाउ पार्यो । उसको अनुहार रगतले भिज्यो । ऊ बेस्सरी थाक्यो ।
लाम्खुट्टेले आफ्नो जीतको घोषण गर्यो र त्यहाँबाट अर्को सिकार खोज्न उड्यो । उडदाउडदै ऊ माकुराको जालमा फँस्यो । माकुराले उसलाई खान लागेको बेलामा उसले मनमनै भन्यो, "जंगलको राजा सिंहजस्तो बलियो जानवरलाई जितेँ तर यो दुष्ट माकुराले गर्दा मेरो ज्यान जानेभयो ।"
१३२ जरायो र झ्याङ
सिकारीहरूबाट भाग्दै एउटा जरायो बाक्लो झ्याङमा लुक्यो । सिकारीहरूले उसलाई देखेनन् । उनीहरू अगाडि बढे । संकट टरेको चाल पाएर जरायोले आफू लुकेको झयाङका पातहरू खान थाल्यो । यसले गर्दा झ्याङ हल्लियो । झ्याङ हल्लिएको देखेर सिकारीहरूलाई त्यहाँ जरायो लुकेको छ कि भन्ने शंका लाग्यो । उनीहरू फर्केर हेरे र जरायोलाई गोली हाने । मर्ने बेलामा जरायोले मनमनै भन्यो, "आफूलाई शरण दिने झ्याङलाई नै खाने म कस्तो मूर्ख रहेछु । मेरो यो दुर्गति हुनु स्वभाविकै हो ।"
१३३ चुक्ली लाउने ब्वाँसो
एउटा सिंह बिरामी भएर गुफाभित्रै आराम गरिरहको थियो । बिरामी सिंहलाई भेट्न बनका सबै जानवरहरू गए तर स्याल गएन । स्यालसँग इख गर्ने ब्वाँसोले स्यालसँग बदला लिने मौका यही हो भन्ने ठान्यो । उसले सिंहसँग स्यालको बदख्वाई गर्दै भन्यो, "त्यो पाजी स्यालले महाराजलाई टेर्दैटेर्दैन । अहिलेसम्म ऊ हजूरको दर्शन गर्न आएको छैन ।"
ब्वाँसोको कुरा सुनेर सिंहलाई स्यालसँग साह्रै रिस उठ्यो । उसले स्यालालाई मार्ने बिचार गर्यो ।
त्यही बेलामा स्याल टुप्लुक्क आइपुग्यो । उसले ब्वाँसोको कुरा सुन्यो र ऊसँग कसरी बदला लिने भन्ने बिचार गर्न थाल्यो ।
स्याललाई देख्ने बित्तिकै सिंह रिसले गर्जँदै भन्यो, "कहाँ गएको थिइस् अहिले सम्म ? सबैले भेट्न आए । तँ आउनु पर्दैन ?"
स्यालले नरम हुँदै भन्यो, "रिसानी माफ होस् महाराज ! फुर्सत नै नपाएर म यहाँ आउन पाइन । महाराजलाई बिसँचो भएको थाहा पाएदेखि म घरमा बसेको छैन । महाराजलाई कसरी निको हुन्छ भन्ने जान्न म दिनरात बनबनमा घुमेर सिपालु डाक्टर वैद्यहरूलाई भेटदै छु । भर्खरै एक जना जान्ने वैद्यलाई भेटेर महाराजको औषधी पत्ता लगाएर आउँदैछु ।"
स्यालको कुरा सुनेर सिंह दंग पर्यो । उसले स्याललाई भन्यो, "ए, त्यसो हो । लौ तँलाई माफी दिएँ । अब त्यो औषधी के हो छिट्टो भन ।"
स्यालले दुई हात जोड्दै भन्यो, "महाराजको जय होस् । वैद्यको के भनाइ छ भने ज्युँदो ब्वाँसोलाई मारेर उसको आलो र तातोतातो छाला ओढ्यो भने महाराजको रोग निको हुन्छ रे ।"
स्यालको कुरो टुंगिन नपाउँदै सिंहले ब्वाँसोको घाँटी अँठ्यायो र उसलाई मार्यो । मर्न लागेको ब्वाँसोतिर हेर्दै स्यालले हाँस्दै भन्यो, "तँ यही लायकको थिइस् । शासकहरूलाई राम्रो काम गर्न प्रेरित गर्नुको सट्टा खराब काम गर्न उक्साउनेको गति यस्तै हुन्छ ।"
१३४ स्यालको न्याय
एक पल्ट सिंह, गधा र स्याल सिकार खेल्न गए । गधाले लोभ्याउने, स्यालले घेर्ने अनि सिंहले हमला गर्ने गरेर धेरै जानवर मारे । सिँहले त्यो सिकार बाँडन गधालाई अह्रायो । गधाले बराबर तीन भाग लगाएर बाँड्यो । गधाको बाँड्ने तरिका देखेर सिंह रिसायो । उसले एकै झापटले गधाको काम सिध्याइदियो । त्यसपछि उसले स्याललाई सिकारको भाग लाउन अह्रायो ।
स्यालले सबै सिकारको एउटा थुप्रो लगायो र त्यो भाग सिंहलाई टकार्यो । अर्को भागमा एकदुई वटा सिङ र पुच्छर राख्यो र आफूले लियो ।
यो देखेर सिंहले दंग पर्दै स्याललाई भन्यो । तँ त बडो बुद्धिमान रहेछस् । हो यस्तै गरी भाग लाउनु पर्छ । यस्तो राम्रोसँग भाग लाउन तँलाई कसले सिकायो ?"
स्यालले नरम हुँदै भन्यो, "भर्खरै गधाले सिकाएको हो, महाराज !"
१३५ चराहरूको राजा
एक पल्ट चराहरू आफ्नो राजा रोज्न जंगलमा भेला भए । मयुरले आफ्नो सुन्दर पखेटा फैलाएर सबैलाई मोहित गर्यो । सबै चराहरूले उसैलाई राजा बनाउने बिचार गरे । तर कोइलीलाई यो कुरा चित्त बुझेन । उसले मयुरसँग सोधी, "मयुर दाइ, तिमी राजा भयौ भने बाजले आक्रमण गर्दा कसरी हामीलाई जोगाउँछौ ?"
मयुरले जवाफ दिन सकेन । अरु चराहरूको मनमा पनि मयुरलाई राजा बनाउनु ठिक होला कि नहोला भन्ने शंका लाग्यो । आखिरमा उनीहरूले चिललाई राजा बनाउने निधो गरे ।
१३६ डाँग्रे र छाउरा
एउटा डाँग्रे कुकुरले हाडको टुक्रा भेट्टायो । ऊ मुखमा हाड च्यापेर जाँदै थियो । बाटामा छाउराहरूले उसलाई देख्यो । ती छाउराहरूले भुक्दै उसलाई लखेट्न थाले । डाँग्रेले एकै झापटमा ती छाउराहरूको काम सिध्याइदिन सक्थ्यो । तर उसलाई मुखको हाड गुम्ला भन्ने डर थियो । यसैले ती फुच्च छाउराहरूले लखेट्दा पनि ऊ भाग्यो ।
१३७ नक्कल गर्ने बोका
एक जना किसानले कुकुर र बोका पालेको थियो । किसान बाहिरबाट आउँदा कुकुरले पुच्छर हल्लाएर उसको स्वागत गर्थ्यो । किसानले उसको जिउ मुसार्थ्यो । अनि कुकुर खुशी भएर किसानको हात चाट्थ्यो । अनि ऊ किसानको काखमा बस्न जान्थ्यो । किसानले आफूले खाँदै गरेको रोटीको टुक्रा उसलाई पनि दिन्थ्यो ।
यो देखेर बोकालाई पनि किसानको माया पाउन मन लाग्यो । भोलि पल्ट किसान बाहिरबाट आउने बित्तिकै बोका पुच्छर हल्लाउँदै किसानको नजिक गयो । किसानले उसलाई वास्ता गरेन । बोकाले उसको हात चाट्यो । अनि किसान घरको पेटीमा बस्ने बित्तिकै बोका उसको काखमा बस्न गयो ।
बोकाको यस्तो चाल देखेर किसानलाई रिस उठ्यो । उसले बोकालाई लौरोले पिटेर गोठतिर धपाइदियो । अनि कुकुरलाई काखमा लिएर रोटी ख्वाउन थाल्यो ।
१३८ बाँदर र चराहरू
जाडो याम थियो । पानी पर्न लागेको थियो । बनमा बस्ने बाँदरहरू जाडोले आत्तिएर यताउता गर्न थाले । बाँदरहरूको दुःख देखेर रुखमा गुँड बनाएर बसेका चराहरूले भने, "हामी चराहरूको हातखुट्टा नभए पनि चुच्चाको भरले गुँड बनाएर न्यानोसँग बसिरहेका छौँ । तिमीहरूको हात खुट्टा छ तैपनि किन आफ्नो घर बनाउँदैनौ ?"
चराहरूको कुरा सुनेर बाँदरहरू रिसाए । चराहरूको सोझो सल्लाहलाई उनीहरूले आफ्नो खिल्ली उडाएको ठाने । अनि ती बाँदरहरूले रुखमा चढेर चराहरूको गुँड भत्काइदिए । कत्ति चराका चल्लाहरू मरे । कति फुल फुटे । बाँदरले आफ्नो घर पनि बनाउँदैन अर्काको घर पनि बिगारिदिन्छ भनेको यही हो । दुष्टलाई अर्ति दिँदा चराहरूको दुर्गति भयो ।
१३९ कुसंगतको फल
बाटोको छेऊमा चौतारी थियो । चौतारीमा थाकेका बटुवाहरूले आराम गर्थे । चौतारीको माझमा बर र पिपरका अजंगका रुखहरू थिए । ती रुखमा धेरै चराहरू बस्थे । त्यहाँ हाँस र कौवाहरू पनि बस्थे । एक पल्ट हाँस र कौवाबीच मितेरी भयो । उनीहरू दिनभरि मिठामिठा कुरा गर्दै बस्न थाले । चारो खोज्न पनि सँगै जान्थे ।
एक दिन घाम चर्केको बेलामा एक जना बटुवा पसिनाले निथ्रुक्क भिजेर आयो । चौतारीमा बस्यो । उसलाई निँद लाग्यो । त्यहीँ रुखको छाहारीमा पल्टियो । एक छिनपछि उसको मुखमा घाम पर्न थाल्यो । यो देखेर हाँसले रुखको हाँगामाथि बसेर पखेटा फिँजारेर उसको मुखमा छाया पारिदियो ।
यसरी आरामसँग निदाएको बटुवालाई देखेर कौवालाई उटुँग्याइँ गर्न मन लाग्यो । उसले बटुवाको मुखमा पर्ने गरी रुखको हाँगामाथिबाट विष्टा गर्यो । बिचरा बटुवा मुखमा चराको विष्टा परेपछि थुक्दै उठ्यो र माथितिर हेर्न थाल्यो । दुष्ट कौवा उडिसको थियो । तर हाँसले पखेटा फैलाएर छाया पार्दै थियो । तर बटुवाले हाँसलाई देखेर पक्कै पनि हाँसले नै उसको मुखमा विष्ट्याएको होला भन्ने ठानेर बाण हानेर दयालु हाँसलाई मारिदियो ।
१४० घोडा र सइस
एक जना सइसले घोडाको निक्कै चाकरी गर्यो । दिनमा धेरै पल्ट उसले घोडाको आंगमा बुरुस लाउँथ्यो । जिऊ मुसार्थ्यो । घोडाको जिउ टलक्क टल्काएर राख्थ्यो । तर उसले घोडाको दाना चोर्थ्यो । मालिकले घोडाको लागि दिएको सबै अन्न ख्वाउन्नथ्यो । घोडाले यो कुरा धेरै दिनसम्म सह्यो । तर एक दिन नभनी मन मानेन । उसले सइसलाई भन्यो, "मेरो जिउ मालिस गरेर टल्काएर मात्रै के गर्ने ? मलाई राम्रो अवस्थामा हेर्न चाहने भए मलाई मुसार्ने काम गर्नुको सट्टा खाने कुरा देऊ । भोको पेटले मालिकको सेवा कसरी गर्ने ?"
१४१ नक्कले कौवा
एक पल्ट जंगलमा चराहरूको राजा रोज्न सबै प्रकारका चराहरूको भेला भयो । सबैभन्दा राम्रो चरालाई राजा बनाउने भन्ने कुरा थियो । यसैले कौवालाई पिर पर्यो । भेला हुने दिन कौवाले जंगलबाट विभिन्न चराहरूको प्वाँख बटुल्यो र आफ्नो जिउमा ती प्वाँखहरू सजाएर राम्रो बन्ने प्रयास गर्यो ।
भेलामा सबै खालका चराहरूको प्वाँख बटुलेर सिँगारिएको अनौठो चरालाई देखेर अरु चराहरू छक्क परे । धेरैले त्यसैलाई राजा बनाउने बिचार गरे । तर जब कौवाको बोल्ने पालो आयो तब सबैले उसलाई चिने । उनीहरू कौवामाथि खनिए र कौवाको जिउमा सिँगारिएका प्वाँखहरू झिकिदिए । कौवा फेरि आफ्नै रूपमा आयो ।
१४२ ज्योतिषी
ज्योतिषीले सँधै ग्रहनक्षत्रहरूको बिचार गर्नुपर्थ्यो । यसैले ऊ जहिले पनि आकाशतिर हेरेर हिँड्थ्यो । एक दिन ऊ आकाशतिर हेर्दै हिँडदैथियो । बाटोमा खाल्टो रहेछ । ज्योतिषीले खाल्टो देखेन र त्यसैमा जाक्कियो । उसको जिउमा ठाउँठाउँमा घाउ भयो । उसले खाल्टो भित्रबाट चिच्याउँदै गुहार माग्यो । नजिकै एक जना बूढो किसान बस्थ्यो । किसानले ज्योतिषीले गुहार मागेको सुन्यो र खाल्टोछेऊ आएर हेर्यो । उसले आफूले चिनको ज्योतिषी खाल्टोमा खसेको देख्यो र मेहनत गरेर बाहिर झिक्यो ।
केही बेरमा ज्यातिषी होशमा आयो । अनि किसानले उसलाई भन्यो, "आकाशका ग्रहनक्षत्रको कुरा थाहा पाउने ज्योतिषी बाजे ! तपाइँले पृथ्वीको बिचारै गर्नु भएनछ । अनि त खाल्टोमा जाक्किनु भयो । माथिको कुरा मात्रै जानेर के गर्ने ?"
१४३ पाठोको बुद्धि
भेँडाको एउटा पाठो बथानबाट छुट्टिएर बनमा अल्मलियो । अचानक उसले परबाट ब्वाँसोलाई आफूतिर आइरहेको देख्यो । उसले ब्वाँसोबाट जोगिने उपाय सोच्न थाल्यो । उसले कत्ति पनि नआत्तिइकन ब्वाँसोलाई भन्यो, "ब्वाँसो महाशय, तपाईँ अरुभन्दा फरक हुनुहुन्छ भन्ने मलाई लाग्छ । हुन त अब म तपाइँको आहार बन्नुपर्छ भन्ने कुरामा शंका छैन । तर मैले तपाइँसँग एउटा कुराको आशा राख्छु । म मर्नुभन्दा पहिले मेरो घाँटीमा झुण्डिएको घण्टीको स्वर सुन्न चाहन्छु । कृपया यति कष्ट गर्नुहोला ।"
पाठोको कुरा सुनेर ब्वाँसो मख्ख पर्यो । उसले पाठोको घाँटीको घण्टी सकेसम्म जोडले बजाउन थाल्यो । हराएको पाठोको घाँटीको घण्टी सुन्ने बित्तिकै भेडा बथानका रक्षक सिकारी कुकुरहरू त्यहाँ आइपुगे । बिचरा ब्वाँसो घण्टी बजाउन तम्सेकोमा पछुताउँदै कुलेलम ठोक्यो ।